सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ
बिर्तामोड । झापा शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन् ।
प्रहरीले माईधारा २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साहलाई पक्राउ गरेको हो । उनीहरु दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । आक्रोशित भीडले आज सुनिल साहको घरमा तोडफोड गरेको छ ।
हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले साहको घरमा तोडफोड गरेका हो । भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ । शर्माको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सो घटनामा ४–५ जनाको संलग्नता रहेको आफन्तले जनाएका छन् ।
शर्मा सवार कार केहि दिन अघि चारआली जंगलमा आगलागी भएको अवस्थामा फेला परेको थियो ।