२०८३ बैशाख ६ गते , आईतबार

झापामा बलात्कारको घटनामा वृद्धि, अधिकांश पीडक ५० माथिका

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ९ गते , सोमबार
झापामा बलात्कारको घटनामा वृद्धि, अधिकांश पीडक ५० माथिका

बिर्तामोड । झापामा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बाह्रदशी गाउँपालिका-६ साधुकुटीमा छोरी र गौरादह नगरपालिका-९ झमकचोकमा आफन्तको आश्रयमा रहेकी किशोरीलाई छिमेकीले बलात्कार गरेको घटना सेलाउन नपाउँदै कचनकवलमा सामुहिक बलात्कारको घटना सार्वजनिक भएको हो । यी घटनाले झापामा बलात्कारको घटना बढेको मात्र देखाउँदैन समाजमा आपराधिक मनोवृत्तिको आयतन फराकिलो बन्दै गएकोसमेत स्पष्ट हुन्छ । 
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार जंगलमा लगेर कचनकवल गाउँपालिकाका दुई व्यक्तिले १७ वर्षीया किशोरीलाई बलात्कार गरेका छन् । बलात्कार गर्ने दुबैजना हिजो नै पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा एकजना ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ छन् । उनीहरू दुबैजना कचनकवल-७ का बासिन्दा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले ललाईफकाई र डरधम्की दिएर ती किशोरीलाई भदौ ५ गते बिहीबार स्थानीय पाथीभरा सामुदायिक वनको झाडीमा लगेर पालैपालो बलात्कार गरेका हुन् । 
किशोरीकी आमाले छोरी बलात्कारमा परेको जाहेरी जिल्ला प्रहरी कार्यालय झापामा दिए लगत्तै इलाका प्रहरी कार्यालय बनियानीको प्रहरी टोलीले पक्राउ गरेको हो । सोमबार उनीहरूलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बाह्रदशीको बाहेक अन्य घटनामा वृद्ध र ५० वर्ष माथिका व्यक्ति सम्लग्न देखिएका छन् । झमकचोकको घटनामा घरगृहस्थी भएका ५१ वर्षका छिमेकी, कचनकवल घटनामा ५५ वर्षीय व्यक्ति र ७१ वर्षीय वृद्ध सम्लग्न भएको पाइनुले यौनकुण्ठा र आवेगको दुष्परिणाम भएको प्रहरीले जनाएको छ । बाह्रदशी घटना पशुवत छ । ३५ वर्षीय बाउले १५ वर्षीया छोरीलाई विगत छ वर्षदेखि मार्ने धम्की दिएर बलात्कार गर्दै आएका थिए । 
झापामा भएका बलात्कारका घटनामा अशिक्षित र  ग्रामीण परिवेशका व्यक्तिमात्रै जोडिएका छैनन् । शिक्षित, सहरिया परिवेश र सार्वजनिक पद धारण गरिसकेका व्यक्ति पनि सम्लग्न भएको देखिएको छ । 
बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीले आफ्नै घरमा कामदार रहेकी १५ वर्षीया किशोरीलाई पटकपटक गरेको बलात्कार त्यसको तुच्छ उदाहरण हो । गत वर्ष मंसिरमा सार्वजनिक भएको सो बलात्कारको घटनाको अहिले सर्वोच्चमा मुद्दा परेको छ ।
जिल्ला अदालत झापाले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश विपरीत उच्च अदालत विराटनगर इलाम इजलासको फैसला अन्यायपूर्ण भएको दाबीसहित किशोरीको परिवारले सर्बोच्चमा मुद्दा दायर गरेको हो । उच्च अदालत विराटनगरले शिवाकोटीलाई उन्मुक्ति दिने आदेश अन्यायपूर्ण भएको भन्दै परिवारले साउन ८ गते सर्बोच्चमा मुद्दा दायर गरेको किशोरीका  आफन्तले बताए। 

सम्बन्धित समाचार