उद्वारको बहानामा घाइतेको सिक्री चोरी गर्ने दुई जना पक्राउ
बिर्तामोड । झापाको झिलझिलेमा केहि दिन अघि सवारी दुर्घटनामा घाइते व्यक्तिको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घाइतेलाई उद्वार गर्ने बहानामा सिक्री चोरी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका वडा नं. ८ बस्ने २८ वर्षीय सुरज हलुवाई र सोही ठाउँ बस्ने २६ वर्षीय गोबिन हाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
गत साउन २९ गते कमल गाउँपालिका वडा नं. ६ बस्ने ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घरतर्फ फर्कने क्रममा शिवसताक्षी नगरपालिका वडा नंं. ८ स्थित झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए । स्थानीयहरुले देखेर एम्बुलेन्समा हाल्दै गर्दा घाइते लिम्बूले घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्रामको सुनको सिक्री हराएको थियो । उनले साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा उक्त सुनको सिक्री घाइतेको उद्धारमा संलग्न हलुवाई र लिम्बूले चोरी गरी लगेको खुल्न आएको थियो ।
उनीहरुलाई खोजी गर्ने क्रममा ३९ ग्राम २२ मिलिग्राम तौल भएको सुनको सिक्रीको टुक्रा र नेपाली नगद ३० हजारसहित आइतबार साँझ ६ः३५ बजे शिवसताक्षी नगरपालिका वडा नं. ८ गणेश चौकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धानको लागि जिल्ला अदालत झापाबाट ५ दिन म्याद अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।