‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माणमा जुट्यो माङसेबुङ
बिर्तामोड । आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याएको इलामको माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि लागू गर्ने भएको छ ।
त्यसका लागि माङसेबुङले ‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माण गर्न एक कार्यदल गठन गरी काम सुरु गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।
‘सरोकारवालाहरुसँगको व्यापक छलफल र परामर्शपछि वान्तवा भाषीहरुको वाहुल्यता रहेको क्षेत्रमा पठनपाठन गर्ने गरी वान्तवा भाषा पाठ्यक्रम निर्माण सुरु गरेका छौं’, गाउँपालिका अध्यक्ष राईले भने, ‘पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरेर काम अगाडी बढाइसकेको छ ।’
अध्यक्ष राईका अनुसार कार्यदलमा जीवनज्योति माविका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा शिक्षक उदय राई, सकुन्ताला राई, अम्बिकाप्रसाद राई, पूर्व शिक्षक गुञ्जकुमार राई र शिक्षा अधिकृत युवराज खनाल रहेका छन् ।
कार्यदललाई भदौ मसान्तसम्ममा पाठ्यक्रम निर्माण गरिसक्न निर्देशन दिइएको अध्यक्ष राईले बताए । ‘पाठ्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी कार्यदललाई दिइएको छ, उहाँहरुले काम थालिसक्नुभएको छ’, अध्यक्ष राईले भने, ‘उहाँहरुले तयार गरेपछि कार्यपालिकाबाट स्वीकृत गरेर कार्यान्वयनमा लैजानेछौं ।’
‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माण हुने भएपछि सरोकारवालाहरु समेत उत्साहित भएका छन् । किरात राई यायोख्खा केन्द्रीय उपमहासचिव कृष्णकुमार राईले वान्तवा भाषा पाठ्यक्रम निर्माण हुनु समग्र वान्तवा भाषीको लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए ।
नेपालको संविधानको भाग ३ को धारा ३१ मा शिक्षाको हक अन्तर्गत उपधारा ५ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न पाउने हकको व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम माङसेबुङले मातृभाषा शिक्षाको लागि वान्तवा भाषाको पाठ्यक्रम निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।
यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १-८) सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयका रुपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ । त्यस्तै, आधारभूत तह (कक्षा १-५) सम्म लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ ।
माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं. ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं. ५ स्थित सरस्वती माध्यमिक विद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए ।
माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १-१२) तीनवटा, माध्यमिक विद्यालय कक्षा (१-१०) सातवटा, आधारभूत विद्यालय (कक्षा १-८) १६ वटा, र आधारभूत विद्यालय (कक्षा १-५) सम्मका चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालय कक्षा (१-१०) दुई र आधारभूत विद्यालय (कक्षा १-८) का दुईवटा विद्यालय छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार १६ हजार आठ सय १० जनसंख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा यसअघि लिम्बू भाषा पाठ्यक्रम लागू गरेको माङसेबुङले यसपटक वान्तावा भाषा पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो ।
माङसेबुङले लिम्बू जातिको वाहुल्यता रहेको वडा नं. ५ मा २०७५ देखि नै लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा घोषणा गरी कार्यान्वयन गर्दै आएको छ ।