लागूऔषध कारोबारमा संलग्न खरेललाई कारबाही गर्न औषधी व्यवसायी संघको माग
बिर्तामोड । झापाको बिर्तामोड–५ मंगलदीप टोलस्थित एक घरमा ठूलो मात्रामा लागूऔषधको गोदाम फेला परेसँगै त्यसमा संलग्न कारोबारीलाई कारबाही गर्न औषधी व्यवसायी संघ झापाले माग गरेको छ । शुक्रबार राति विज्ञप्ति जारी गरी संघले उक्त लागूऔषध कारोबारमा जोडिएका भानुभक्त खरेललाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।
संघले आफ्नो पेसाको नैतिकतामाथि नै प्रश्न उठ्ने खालका क्रियाकलापहरु गर्ने व्यक्ति कुनै पनि मानेमा औषधि व्यवसायी हुन नसक्ने जनाएको छ । संघका महासचिव विष्णुप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस्तो सामाजिक विचलन र समाजलाई नै अधोगतितिर धकेल्न उद्यत यस्ता व्यावसायिक फर्म र धनीलाई तत्कालै पक्राउ गर्न र कानुनको कठघरामा उभ्याउन नेपाल औषधि व्यवसायी संघ झापा जोडदार माग गर्दछ । तत्काल भण्डारणमा उपस्थित रहेका व्यवसाय सहयोगी विनोद घिमिरेलाई मात्र नियन्त्रणमा लिएको जस्तो सञ्चारमाध्यममा खबरहरु आएका छन् । तर, यसका धनी भनिएका भानुभक्त खरेल फरार रहेको समाचार प्रकाशन तथा प्रशारण भएको हुँदा तत्काल उनलाई पक्राउ गरी कानुनी कारबाहीको लागि प्रहरी प्रशासनसमक्ष अनुरोध गर्दछौँ ।’
खरेल नेकपा एमालेको सक्रिय कार्यकर्ता भएको र राजनीतिक आडमा प्रहरी प्रशासनसँगको सेटिङमा लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न भएको बताइएको छ । प्रहरीले उनले भाडामा लिएको बिर्तामोड–५ मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको घरबाट विहीबार करिब ३५ लाख मुल्य बराबरको ट्रामाडोललगायत विभिन्न प्रतिबन्धित लागूऔषध बरामद गरेको थियो । प्रहरीले खरेलका कामदार अर्जुनधारा–६ बस्ने २५ बर्षीय विनोद घिमिरेलाई पक्राउ गरेका छ । खरेल भने फरार रहेको प्रहरीले जनाएको छ । उनले सनलाइट फर्मा नामक औषधी पसल सञ्चालन गर्दै आएका छन् ।
लागूऔषध कारोबारमा संलग्न खरेललाई तत्काल पक्राउ गरी कारबाही गर्न वाइसीएल नेपाल बिर्तामोड नगर समितिले यस अघि नै विज्ञप्तिमार्फत माग गरेको छ ।
