हिंसा नियन्त्रणमा विद्यालयको भूमिका सम्बन्धी कार्यक्रम सम्पन्न
बिर्तामोड । विद्यालयका बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा विद्यालयको भूमिका र कानूनी परामर्श सम्बन्धी एकदिवशीय कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार बिर्तामोड नगरपालिकामा भएको कार्यक्रममा बालबालिका माथि कहाँ, कसरी र कोबाट हिंसा हुन्छ, बालबालिका माथि हुने हिंसा नियन्त्रणका लागि विद्यमान कानून एवं संरचना के छ साथै विद्यालयमा बालबालिका माथि हुने हिंसा नियन्त्रण गर्ने उपाय समेतका बारेमा झापा जिल्ला अदालतका प्रशासन शाखाका शाखा अधिकृत तथा सूचना अधिकारी रामचन्द्र बस्नेतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बालबालिका माथि हिंसा भएको देखिए नियन्त्रणका लागि विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, नगर शिक्षा समिति एवम् बाल क्लबको ठूलो भूमिका हुने धारणा व्यक्त गरे । उनले विद्यालयहरु बिचमा भगिनी सम्बन्धको विकास गरी हिंसामुक्त विद्यालय बनाउनका लागि भूमिका खेल्न कार्यक्रममा सहभागी प्रधानाध्यापक र शिक्षकहरुलाई आग्रह गरे ।
विद्यालयमा तुलनात्मक रुपमा छात्रा बढी हिंसामा परेका तथा विद्यालयमा हिंसा बढिरहेको छ भन्ने गुनासो नगरपलिकामा आउने गरेकोले बताउँदै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बालबालिकाको अपरिपक्व र अज्ञानताका कारण अपराध नगरेपनि विद्यार्थीलाई सुधारात्मक ढङ्गले शिक्षकले व्यवहार गर्नुपर्नेमा जोड दिए ।
शिक्षा शाखाका प्रमुख भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, शिक्षा शाखाका अधिकृतद्वय लासाङ तामाङ र जानुका रेग्मी समेतको उपस्थितिमा रहेको थियो ।
कार्यक्रममा बिर्तामोड नगर क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ४० जना भन्दा बढीको सहभागिता रहेको थियो ।