२०८३ बैशाख ६ गते , आईतबार
केदारनाथमा भएको हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु
बिर्तामोड । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए ।
गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो ।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन् । गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए ।
शवहरू नराम्ररी जलेको बताइएको छ । मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ । हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो ।