विज्ञान प्रदर्शनीमा बुद्धशान्तिको आदर्श मावि प्रथम
बिर्तामोड । झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा झापा बुद्धशान्ति–२ को आदर्श माध्यमिक विद्यालय जयपुर पहिलो भएको छ । विजेता बनेसँगै विद्यालयले नगद चार लाख रुपैँया पुरस्कार हात पारेको छ ।
कक्षा ८ मा अध्ययनरत विशाल सहनीले तयार गरेको ‘ट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्ट’ले सबैको रोजाईमा पर्न सफल भएको हो । उनलाई प्रोजेक्ट तयार पार्न विद्यालयका विज्ञान शिक्षक अरूण ढुङ्गेलले प्राविधिक सहयोग गरेका थिए ।
त्यस्तै बिर्तामोडको देवी माध्यमिक विद्यालय दोस्रो भएको छ । कक्षा ११ का सविन बाँस्कोटाको नेतृत्वमा आयुष, अनिश र सुवर्णले बनाएको ‘देवी रोबोट’ ले दोस्रो स्थान प्राप्त गर्दै तीन लाख रुपैयाँ पुरस्कार जित्यो । उनीहरूले करिब एक महिनामा उक्त रोबोट निर्माण गरेका थिए, जसले दर्शकहरूलाई चकित तुल्याएको थियो ।
त्यस्तै तेह्रथुमको सिंहदेवी माध्यमिक विद्यालय तेस्रो बन्दै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
इलामको फिक्कल मावि, पाँचथरको फिदिम मावि, सुनसरीको ल्याबोरेटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि, धनकुटाको त्रिवेणी मावि र मोरङको रिलाइन्स अंग्रेजी माविले प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरे ।
तीन दिनसम्म चलेको प्रदर्शनी नेकपा एमाले विज्ञान तथा प्रविधी विभाग कोशी प्रदेशले आयोजना गरेको थियो । पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले कार्यक्रम उद्घाटन गरेकी थिइन् ।