सहकारीको कर्मचारीलाई ऋण सदस्यले कत्ति हान्छु भनेपछि....
विर्तामोड । झापाको बिर्तामोडस्थित एक सहकारीको कर्मचारीलाई सोही संस्थाका ऋण सदस्यले ज्यान मार्ने धम्की दिएका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै सहकारीले आपत्ति जनाएको छ ।
झापा साविक बुधबारे ६ हाल विर्तामोड नगरपालिका वडा नम्बर १ मा बस्दै आएका खगेन्द्र क्षेत्रीले बिहीबार बिहान फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको भन्दै शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराउँदै दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख ऋण लगेको र सो सावाँको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैया ऋण पुगेको र सो को ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भिमबहादुर पौडेल घरमा जाँदा कत्ति निकालेर धाकधम्की दिए पछि संस्थाले कानुनी बाटोबाट जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।
पौडेल र क्षेत्रीविच भएको अडियो संवादमा क्षेत्रीले 'पर्खी तँलाई घर मै आएर छप्क्याउँछु' भनेको सुनिन्छ ।
'ऋण असुलीका लागि संस्थाले पत्राचार गरेपछि कार्यकारी प्रमुख कृष्ण पौडेललाई व्यक्तिगत नम्बरमा फोन गरी घर मै आएर कत्ती हान्ने सम्मको धम्की दिएको घटना अत्यन्त निन्दनीय र भर्त्सनायोग्य छ। संस्थागत व्यवहार संस्थागत रुपमा छलफल हुनुपर्नेमा कर्मचारीलाई धाकधम्की दिने कुराले कानुनको समेत बर्खिलाप गरेको छ ।
सहकारी अभियानमाथि चौतर्फी आक्रमणको घटना भइरहेको अवस्थामा यस्ता घटनाले सिंगो सहकारीमा कार्यरत कर्मचारीहरुको मनोबल घटाउने र ऋण लिएर तिर्नुपर्दैन भन्ने मनस्थिती भएका व्यक्तिहरुलाई मलजल पुग्ने भएकाले निज खगेन्द्र क्षेत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न प्रशासन समक्ष जोडदार माग गर्दछौं । साथै, संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षाका निमित्तसमेत स्थानीय प्रशासन समक्ष माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।
एउटा सदस्यहरुले गरेको बचत अर्को सदस्यलाई ऋणको रूपमा दिइने भएकाले समयमा सावा ब्याज नबुझाउँदा सहकारी समस्यामा पर्ने अध्यक्ष भट्टराईले बताए । उनले सदस्यले लिएको ऋण समयमा तिर्नु नैतिक दायित्व भएको उनले बताए । समयमा सावाँ ब्याज भुक्तानी नगर्ने सदस्यहरु ऊपर कानुनी कारबाही गर्नु संस्थाको बाध्यता हुने उनको भनाई थियो ।
कोअपरेटिभ मेनेजर्स क्लबका झापा सदस्य पर्वत चिमरियाले कर्मचारीमाथि हुने प्रहार सैह्य नहुने बताए । यस्ता घटनालाई प्रशासनले गम्भीरताका साथ अनुसन्धान गरी तत्काल कारबाही गर्नुपर्ने उनले माग गरे ।