२०८३ आश्विन १७ गते , शनिबार

शिक्षामन्त्रीलाई नभेटी सिंहदरबार गेटबाटै किन फर्किए शिक्षक शिक्षक ?

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १३ गते , शनिबार
शिक्षामन्त्रीलाई नभेटी सिंहदरबार गेटबाटै किन फर्किए शिक्षक शिक्षक ?

झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेट्न सिंहदरबार गएका शिक्षक नेताहरू गेटबाटै फर्किए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको जम्बो टोली सिंहदरबारको गेटमा पुगेको थियो ।

त्यसका लागि शिक्षा मन्त्रालयले २५ जनाको सूची गेट पासका लागि सिंहदरबारको गेटमा पठाएको थियो । सुरक्षाकर्मीले सोही अनुसार मन्त्रीलाई भेट्न आउने शिक्षक नेताहरूको गेट पास लिएर बसेको थियो ।

सिंहदरबारभित्र जान पुगेका शिक्षक नेताहरू सिंहदरबारको गेटबाटै फर्किए । उनीहरू शिक्षामन्त्रीलाई भेट्न भित्र नगईकन गेटबाटै फर्किएका हुन् ।  शिक्षामन्त्री पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले उनीहरूलाई वार्तामा आउन आग्रह गरेका थिए । वार्ताका लागि आह्वान गरेको दुई घण्टा नबित्दै शिक्षकहरू छलफल गर्न तयार भएका थिए ।

त्यसैका लागि सिंहदरबार पुगेका उनीहरू गेटबाटै फर्किएका हुन् ।  महासङ्घ अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा विशेष कारणले गेटबाटै फर्किएको बताएका छन् । त्यो विशेष कारण के हो भन्ने विषयमा भने खुलाएका छैनन् ।

उनीहरूले सिंहदरबार बोलाएर सुरक्षाकर्मीले गेटमै रोकेपछि फर्किएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले छलफलमा बोलाएर भित्र छिर्न नदिएपछि गेटबाटै फर्किएको बताए ।

आफूहरूले नपठाएको नामको सूची गेट पासका लागि भने सरकारको तर्फबाट सार्वजनिक भएकोमा समेत शिक्षक नेताहरूले आपत्र् िजनाएका छन् । शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासङ्घले तयार नपारेको अध्यक्ष सुवेदीले बताए ।

आज नवनियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि मात्रै जाने तयारी रहेको तर, विशेष कारणले मन्त्रालय प्रवेश नगरी फर्किएको अध्यक्ष सुवेदीको भनाइ छ ।  मन्त्रीको सचिवालयले भने भित्र छिर्न नदिएको भन्ने कुरामा कुनै सत्यता नरहेको जनाएको छ । मन्त्रालयको तर्फबाट साढे १ बजेतिर नै गेट पास उपलब्ध गराइएको मन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

‘आज मन्त्रीज्यूलाई भेट गर्छौ भन्नुभएको थियो । त्यसपछि मन्त्रालयको तर्फबाट गेट पास पठाइदिएको थियो । १÷२ जना आउने भए पो परिचयपत्रका आधारमा छिर्न दिन्छ । तर, उहाँहरू धेरै जना आउने भनेपछि को को आउने हो नाम दिनु भनेपछि महासङ्घबाटै नाम आएको हो । उहाँहरूले नै पठाउनुभएको नामका आधारमा २५ जनाको लिस्ट पठाएका थियौँ,’ ती सदस्यले भने । 

साढे १ बजेतिर पास पठाए पनि शिक्षक नेताहरू तीन बजेपछि मात्रै सिंहदरबारको गेटमा पुगेका थिए । त्यहाँ सुरक्षाकर्मीले रोकेको थियो ।  धेरैको सङ्ख्यामा आएको र त्यसमा शिक्षकहरू आन्दोलनमा रहेका कारण सुरक्षाकर्मीले रोकेको थियो । 

‘हामीले साढे १ बजे नै लिस्ट पठाएका थियौँ । तर, पछि हामी आएनौँ भन्नुभयो । नआउनुको कारण उहाँहरूले २५ जनाको लिस्ट किन सार्वजनिक गरेको भन्ने रहेछ,’ ती सदस्यले भने । 

उनीहरूले भित्र प्रवेश नपाएको जनाएपछि मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका हाकिम आफै गेटमा गएका थिए ।  अहिले पनि शिक्षामन्त्री र शिक्षा सचिव उनीहरू आउने भनेर कुरेर बसेका छन् । धेरैको संख्यामा आएपछि शिक्षामन्त्रीले वार्ता टोली बनाउन भनेका छन् । वार्ता टोली बनेपछि छलफल गर्ने बताएका हुन् ।

सम्बन्धित समाचार