विद्यार्थीको पोशाकमा कैलाशपतिको एकाधिकार अन्त्य गर्न निर्देशन
बिर्तामोड । झापाको बिर्तामोड भित्रका निजी विद्यालयहरुले एउटै पसलबाट मात्र पोशाक खरिद गर्नु पर्ने वाध्यता सिर्जना गरेको भन्दै त्यसको अन्त्य गर्न बिर्तामोड नगरपालिकाले निर्देशन दिएको छ । बिर्तामोडको मुक्तिचोक नजिकै रहेको कैलाशपति ट्रेड लिंक्सबाट मात्र पोशाक लिनु पर्ने अवस्था अन्त्य गर्न पालिकाले एक सूचना जारी गरी निर्देशन दिएको हो ।
बिर्तामोडको कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक किन्नुपर्ने बाध्यता विद्यालय संचालकहरुले बनाएपछि त्यसविरुद्ध आजित भएर अभिभावकहरुले नगरपालिकामा उजुरी दिएका छन् ।
बिर्तामोड नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका अधिकांश विद्यालयहरुले एउटै कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था गरेका कारणले विद्यार्थी-अभिभावकहरुलाई भीडभाड भई घण्टौसम्म लाइनमा बस्नुपर्ने, पालो नआएर पटक पटक धाउनुपर्ने जस्ता समस्या भोग्नु परिरहेको छ । त्यस्ता समस्याबाट आजित भएर अभिभावकहरुले नगरपालिका कार्यालयमा लिखित उजुरी दिएका हुन् ।
नगरपालिकाले एउटै ठाउँबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था नगरी सबै विद्यालयहरुले विद्यार्थीहरुलाई ड्रेस कोड उपलब्ध गराइ अभिभावक स्वयमले नै पोशाक व्यवस्थापन गराउने व्यवस्था गर्न सवै विद्यालयहरुलाई निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी तिलचन भण्डारीले सूचना जारी गरी त्यस किसिमको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
सबै विद्यालयले कैलाशपतिमै मात्र विद्यालय पोशाक किन्न पठाएपछि त्यहाँ अत्यधिक भीड हुने गरेको छ । बिर्तामोडमा ५७ वटा निजी विद्यालय रहेका छन् । अधिकांशले त्यही कैलाशपतिमा विद्यालय पोशाक किन्न लगाउने गरेका छन् ।