कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासंघको आग्रह
झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरेसँगै शिक्षक महासङ्घले कुनै पनि हालतमा कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । महासङ्घले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई अनुरोध गरेको हो ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु विभिन्न माग राखेर २१ दिनदेखि काठमाण्डौको सडकमा आन्दोलन गरिरहेको भएपनि राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि तोकेको कक्षा १२ को परीक्षा निर्धारित मितिमा गर्ने निर्णय गरेको थियो ।
कक्षा १२ को परीक्षा हुने केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षाको प्रकियामा सामेल हुन दबाब आएको महसंघको भनाइ छ ।
काठमाण्डौमा शैक्षिक सडक आन्दोलन भइरहेको बेला उक्त परीक्षामा सामेल नहुन भनेको हो । केन्द्राध्यक्षलाई समेत काठमाण्डौमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।
