१६औं दिनमा सडकमा शिक्षकको आँट, माग पूरा हुने छैन छाँटकाँट
बिर्तामोड । विभिन्न माग राखेर शिक्षकले काठमाण्डौको सडकमा आन्दोलन गरेको १६औं दिन पुगेको छ । शान्तिपूर्ण आन्दोलन गरेको यतिका दिनसम्मपनि माग सम्बोधन हुने कुनै छाँटकाँट देखिएको छैन ।
देशभरका शिक्षकहरू भर्ना अभियान रोकेर आदोलनमा होमिएको यतिका दिन सम्म पनि सरकारले शिक्षकको मागप्रति गम्भीर चासो देखाएको छैन । निर्णायक आन्दोलन भनेर संकल्पका साथ सडकमा निस्किएका शिक्षक माग पूरा नहुन्जेलसम्म घर नफर्कने चट्टानी अडानमा छन् । कक्षा १२ को परीक्षासमेत प्रभावित हुने स्थिति छ । शिक्षकले एसईईको उत्तर पुस्तिका जाँच नगर्दा नतिजा समेत प्रभावित हुने देखिएको छ ।
नेपाल शिक्षक संघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि अस्वीकार गर्दै निरन्तरता दिइएको हो ।
शिक्षकहरूले उधारो सहमति नमान्ने भन्दै ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान लिएका छन् । सधैँझैँ आज पनि माइतीघरमा भेला भएर शिक्षकहरूले सडकमार्फत सरकारलाई दबाब दिएका छन् । आउने अधिवेशनमा माग सम्बोधन हुने आशा लिएका शिक्षकहरू सभामुख देवराज घिमिरेको अभिव्यक्तिपछि निराश बनेका छन् ।