२०८३ बैशाख ५ गते , शनिबार

झापामा कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हुँदै

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३ गते , बुधबार
झापामा कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हुँदै

बिर्तामोड । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ । नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजना गर्न लागेको हो ।
आगामी जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी माविमा प्रदर्शनी आयोजना गर्ने तयारी भएको आयोजकले जनाएको छ । कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने तयारी भइरहेको नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोख्रेलले जानकारी दिए ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रदर्शनीस्थलमा २० वटा व्यावसायीक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने पोख्रेलले बताए । कार्यक्रमका लागि अपुग रकम दाताहरुबाट सहयोग लिइने बताइएको छ । अन्य सहभागी विद्यालयलाई निःशुल्क स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी भइरहेको आयोजक संस्थाका प्रमुख पोख्रेलले बताए । कार्यक्रममा युथ पावर फाउण्डेशनले स्वयमसेवकको व्यवस्थापन गर्ने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार