मागुरमाडी सहकारी पीडितले बचत फिर्ता नपाएको गुनासो
धुलाबारी । झापा मेचीनगरको मागुरमाडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताले लामो समयसम्म पनि बचत फिर्ता नपाएको गुनासो गरेका छन् । उनीहरूले बुधबार पत्रकार सम्मेलन गरी सहकारीले कार्यालय नै बन्द गरेका कारण आफूहरु थप पीडित भएको भन्दै गुनासो गरेका हुन् ।
सहकारीले बचतकर्ताले जम्मा गरेको लाखौँ रकम फिर्ता गर्न नसकेको उनीहरूको भनाई छ । उल्टै सहकारी संस्था बन्द गरी सञ्चालक आफ्नै पारामा हिँडिरहेको पीडितहरुले गुनासो गरे ।
पीडितहरुका अनुसार बचतकर्ताले जम्मा गरेको करिब ३५/३६ लाख रुपैयाँ पैसा डुबेको छ । पैसा फिर्ता पाउँ भनी सम्बन्धित निकायको ढोका ढक्ढक्याउन पुगेका बचतकर्ताले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । मागुरमाडीको झन्डी चोकमा सहकारीको कार्यालय सञ्चालन गरिएको थियो । कार्यालय बन्द भएको पनि करिब डेढ वर्ष बितेको छ । बचतकर्ता आफूहरुले जम्मा गरेको पासबुक बोकेर हिँडिरहेका छन् । तर, उनीहरुले आफ्नो पैसा फिर्ता पाउन सकेका छैनन् ।
पीडित बचतकर्ता गोपी तिवारीका अनुसार पैसा फिर्ता पाउँ भन्दै पीडितहरु जिल्ला प्रशासन कार्यालय झापा पनि पुगेका थिए । यो मुद्धा नगरपालिकाले हेर्ने हो भन्दै फिर्ता पठाइयो । त्यसपछि उनीहरु धुलाबारी इलाका प्रहरी कार्यालयमा पुगे । प्रहरीले छलफलका लागि सञ्चालक समितिलाई डाक्यो । छलफलमा सञ्चालक समितिले पैसा फिर्ता गरिदिने भनेर आश्वासन दियो । तर, आश्वासन मात्रै पाए । त्यसपछि पटक–पटक वडा नं ९ को कार्यालयमा छलफल बस्यो । छलफलमा पैसा फिर्ता गरिदिने भन्दै सञ्चालक समितिले वचन दियो, तर पैसा फिर्ता गरेन ।
बचतकर्ता सानबहादुर तामाङले आफूहरुले दुःख गरी जम्मा गरेको पैसा सहकारीले खाइदिएको गुनासो गरे । उनले सञ्चालक समितिले यो विषयमा वेवास्ता गरेको समेत आरोप लगाए ।
२०६८ सालमा स्थापना भएको संस्थाको अध्यक्षमा हाल दुर्गा आचार्य अध्यक्ष छन् । यसअघि सञ्जय ढुंगाना, कञ्चन तामाङ, बमबहादुर बेघा अध्यक्ष थिए । हालका अध्यक्ष आचार्यले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको स्वीकार गरे । उनले आफू अध्यक्ष हुनुभन्दा पहिले नै सहकारीमा समस्या आएकाले एकैपटक बचतकर्ताको रकम फिर्ता गर्न नसकिएको बताए ।
‘सहकारी संस्थामा समस्या पहिलेदेखि नै थियो,’ उनले भने, ‘हामी विस्तारै बचतकर्ताको पैसा फिर्ता गर्दै जाने भनिरहेका छौँ ।’ सञ्चालक समितिका एक सदस्यका अनुसार व्यवस्थापक कुमार तामाङको नाममा करिब ३२ लाख रुपैयाँ बेरुजु देखिएको थियो । उक्त रकम ती व्यवस्थापकले जग्गा बेचेर १६ लाख रुपैयाँ सहकारीमा जम्मा गरेका थिए । अरु बाँकी पैसा तिर्न नसकेपछि उनी हाल वैदेशिक रोजगारीमा गएका छन् । उनी विदेश गएको करिब २ महिना भएको बताइएको छ ।