झापा जिल्ला सहकारी संघको मनोनयन सम्पन्न
झापा । आगामी चार वर्षे कार्यकालका लागि झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ ।
जिल्ला संघको बिर्तामोडस्थित सम्पर्क कार्यालयमा आज भएको मनोनयन दर्ता कार्यक्रममा जिल्ला संघको अध्यक्ष पदमा हालका उपाध्यक्ष प्रेमकुमार कोइरालाको मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी बरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटाको मात्र उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको पहिलो नामावली विवरणअनुसार एकजना खुल्ला उपाध्यक्ष पदमा तीनजनाको र एकजना महिला उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ ।
जस अनुसार खुल्ला उपाध्यक्ष पदमा नारायणप्रसाद भट्टराई, डिल्ली दाहाल र अर्जुनकुमार दङ्गाल तथा महिला उपाध्यक्षमा देवी निरौला बस्नेत र चन्द्रकला अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
जिल्ला सङ्घको एकजना सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ । भवानीप्रसाद दंगाल, युवराज गिरी र लक्ष्मीप्रसाद बास्कोटाले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । सहसचिव एकजनाका लागि टसबहादुर श्रेष्ठ र विनोद ढकालको उम्मेदवारी परेको छ भने एउटा कोषाध्यक्ष पदमा केशवप्रसाद बस्नेतको मात्र उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारहरूको प्रथम सूची अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध निर्वाचित भएको बुझ्न सकिन्छ ।
सञ्चालक समिति सदस्य ४ जना महिला अनिवार्य हुनेगरी ७ जनाका लागि उम्मेदवारी दर्ता गर्दा चारजना महिला सञ्चालक सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । तर खुल्ला तीन जनाका लागि छ जनाले मनोनयन गराएको प्रथम नामावली सूचीमा उल्लेख छ ।
निर्विरोध भएका महिला उम्मेदवारहरूमा बिन्दाकुमारी थापा, नीला कुमारी दाहाल, पुष्पा चौलागाईं अधिकारी र संगीता गजुरेल रहेका छन् । यता खुल्ला सदस्य पदमा चाहिँ प्रेमसागर सापकोटा, ढुण्डिराज गुरागाई, कृष्ण पौडेल, चक्रबहादुर लिम्बु, नारायण प्रसाद गौतम र काशीनाथ घिमिरेको मनोनयन दर्ता भएको छ ।
संघीय निर्वाचन क्षेत्र अनुसारका पाँचजना क्षेत्रीय सदस्यहरूमा क्षेत्र नम्बर १ बाट देवीमाया अधिकारी निर्विरोध निर्वाचित भएकी छन् । क्षेत्र नम्बर २ बाट युवराज गौतम र लवकुमार चौधरीले मनोनयन दर्ता गरेका छन् ।
यस्तै क्षेत्र नम्बर ३ मा क्षेत्रीय सदस्यका लागि हरिकृष्ण अधिकारीको मात्र मनोनयन दर्ता भएको छ भने क्षेत्र नम्बर ४ बाट तिलक प्रसाद सिंह राजवंशीको मनोनयन दर्ता भएको छ । उनीहरू दुवै निर्विरोध भएका छन् ।
क्षेत्र नम्बर ५ बाट सदस्य पदमा पदम लिम्बु लिङदेन र वीरेन्द्र पोखरेलको मनोनयन दर्ता भएको छ ।
सङ्घको लेखा सुपरिवेक्षण समितिमा आठौं कार्यकालका लागि पनि महिला सदस्यमा उम्मेदवारी परेन । तर संयोजकमा वर्तमान संयोजक चुडामणि ओझा र पूर्व सञ्चालक खडानन्द गुरागाईंले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्य पदमा मिलन आचार्य र राजेन्द्रप्रसाद रिजालले मनोनयन दर्ता गराएका छन् ।