झापामा मनाइयो ६८औं सहकारी दिवस
बिर्तामोड । बुधबार झापामा ६८औं सहकारी दिवस मनाइएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा ‘मर्यादित सहकारी :ः समुन्नत समाज’ भन्ने मुल नाराका साथ बिर्तामोडमा आज कार्यक्रम सम्पन्न गरिएको हो ।
बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा ‘सहकारीमा नवप्रवर्तनको प्रबर्धन’ शिर्षकमा उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक नारायण प्रधानले ‘सहकारीमा नवप्रवर्तनको प्रवर्धन’ विषयमा उत्प्रेरणात्मक प्रशिक्षण दिएका थिए । उनले सहकारीहरुले समय अनुकूल आफूलाई परिस्कृत गरेर लैजानुपर्ने बताए । उदाहरणस्वरुप प्रधानले समय अनुसार चल्न र आफूलाई परिवर्तन गर्न नसक्दा पृथ्वीबाट धेरै जीव लोप भएको, ठूला ठूला व्यावसायिक प्रतिष्ठान समेत समय अनुसार चल्न नसक्दा बन्द भएको बताए ।
कार्यक्रममा संघका सल्लाहकार संयोजक रामचन्द्र उप्रेतीले सहकारी अभियान र राज्य दुवै पक्षको साझेदारीबाट सहकारी क्षेत्रलाई समुन्नत बनाउन सकिने धारणा राखे । उनले राज्य वा अरुलाई मात्र दोष दिनुभन्दा पनि सहकारी क्षेत्रमा भएका कमीकमजोरीलाई समेत हटाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का महासचिव घनश्याम अधिकारीले ‘अभियानको पुनर्जागरण र सहकारीको आगामी मार्गचित्र’ विषयक प्रस्तुति दिएका थिए । आफ्नो प्रस्तुतिमा महासचिव अधिकारीले सहकारी अध्यादेश मार्फत संशोधित ऐन र यसले अभियानमा हुने प्रभाव, सहकारी संस्थामा सञ्चालक र लेखा समितिको सहकार्य हुन्छ कि हुँदैन ? जस्ता विषयमा प्रकाश पारेका थिए ।
नेपालमा २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्थाको स्थापना भएको दिनलाई सहकारी आन्दोलनको शुरुआत भएको दिनका रूपमा स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । तत्कालिन कृषिमन्त्री बखानसिंह गुरुङको पहलमा सो सहकारी स्थापना भएको थियो ।
झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए । सहकारी अभियन्ताहरु हर्क तामाङ, मिनाकुमारी ढकाल, लक्ष्मी उप्रेती, दुर्गाप्रसाद सापकोटा, केशव सापकोटा, तुलाराम न्यौपाने, चन्द्रकुमारी खड्का, प्रशिक्षक नितेश प्रधान लगायतको आतिथ्य रहेको कार्यक्रममा संघद्वारा प्रकाशित सहकारीको चुनौती र आवश्यक कानून नामक स्मारिका समेत विमोचन गरिएको थियो ।
संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित सहकारी दिवस समारोहमा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।