युवा संघ इन्चार्ज आङदेम्बेमाथि खुकुरी प्रहार गर्ने दुर्गा राई पक्राउ
बिर्तामोड । राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदेम्बे लगायत तीन जनामाथि आक्रमण गरेको अभियोगमा दुर्गा राई पक्राउ परेका छन् । राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार राई झिलझिले एरियाबाट पक्राउ परेका हुन् । मङ्गलबार मध्यरातमा भएको घटना पछि राई फरार रहेका थिए । राई घटनाको मुख्य अभियुक्त भएको बताइएको छ । मङ्गलबार मध्यराति १२:४५ बजे बिर्तामोड ४ भद्रपुर रोड पश्चिम कर्णाली सहकारीको कार्यालयदेखि पश्चिमपट्टि गणेश प्रसाईको घर आगनमा भएको घटनामा परी खगेन्द्रराज आङदम्बे, एमालेका बिर्तामोड नगर कमिटी सदस्य वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नं ४ बस्ने वर्ष अन्दाजी ३० का अजय खवास घाइते भएका थिए ।
प्रहरीले घटना भएकै दिन खगेन्द्र खालिङ राईलाई पक्राउ गरेको छ ।