कन्काई क्याम्पसमा अनेरास्ववियुको तीन जनामात्र उम्मेदवार
बिर्तामोड । झापाको बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तर्फबाट तीन जनाले मात्र मनोनयन दर्ता गराएका छन् ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघसँग गठबन्धन गर्ने प्रयास अन्तिम समयमा विफल भएपछि अनेरास्ववियुको तीन जनाले मात्र मनोनयन दर्ता गराएका हुन् । प्रत्यक्षतर्फ अनेरास्ववियुका किशोर खत्रीले कोषाध्यक्ष र सलिसा श्रेष्ठले सदस्य पदमा मनोनयन दर्ता गराएका छन् भने समानुपातिक तर्फ ओशीन तामाङले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
माओवादी निकट अखिल क्रान्तिकारीको तर्फबाट प्रत्यक्षतर्फ अध्यक्षमा नविन पौडेल, सचिवमा अनिल अधिकारी, कोषाध्यक्षमा जानकी भट्टराई, सदस्यहरु टिकाराम दर्जी, नवराज खनाल, विष्णुकुमारी विक, सुष्मा भट्टराई र कुशल डाँगीले मनोनयन दर्ता गराएका छन् । समानुपातिक तर्फ सपना भट्टराई, भुपेन्द्र विक, सिशिर प्रसाई र सुजन घिमिरेले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै नेविसंघको तर्फबाट प्रत्यक्षतर्फ अध्यक्षमा किरण गुरुङ, सचिवमा मनिष कोइराला, कोषाध्यक्षमा मेघा जबेगु लिम्बु, सदस्यहरु उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु र अमिसा सुवेदीले मनोनयन दर्ता गराएका छन् । यता समानुपातिक तर्फ १२ जनाले मनोनयन दर्ता गराएका छन् । समानुपातिक तर्फ अधिकतम् ९ जनाको नाम दर्ता गराउनुपर्नेमा नेविसंघले १२ जनाको नाम दर्ता गराएको एक विद्यार्थी नेताले बताए ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मंगलबार मनोनयनको तालिका रहेको थियो ।
