२०८३ बैशाख ६ गते , आईतबार

अनलाइनमार्फत ठगिएकी जमुनाले गरिन् आत्महत्या

sajilo news
परिवेश मिडिया
२०८१ माघ २६ गते , शनिबार
अनलाइनमार्फत ठगिएकी जमुनाले गरिन् आत्महत्या

झापा । रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाइलीको जीवन ठिकठाक चलिरहेको थियो। उनका श्रीमान कमाउन भारत पुगेका थिए।
जमुना परिवारमा तीन वर्षका छोरा, सासू, ससुरा र एक जना देवरसँगै बस्थिन्। अर्का एक जना देवर विदेशमा छन् र अर्का काठमाडौंमा।
स्कुले शिक्षासम्मको अध्ययन गरेकी जमुना सामाजिक सञ्जाल चलाउँथिन्। ह्वाट्सएपमार्फत एक दिन अपरिचित व्यक्तिले ठूलो धनराशिको चिठ्ठा परेको तथा आकर्षक उपहार पनि पाउँदै हुनुहुन्छ भन्ने लालच दिए।
ती अपरिचितको कुरा जमुनाले पत्याइन्। त्यसैले उनले जे जे भने, त्यही गर्दै गइन्। झन्डै आठ–दस लाख रूपैयाँ जतिको चिठ्ठा परेको र त्यत्तिकै मात्रामा आकर्षक उपहार पनि उपलब्ध गराउँछौं भन्ने अपरिचितको भनाइको विश्वासमा परिन्। ती अपरिचितले त्यो कुरा कसैलाई पनि थाहा नदिन र नभन्न वाचा पनि गराएका थिए।
अपरिचितले सामाजिक सञ्जालमार्फत थापेको ठगी धन्दाको जालोमा फस्दै छु भन्ने कुरा जमुनाले समयमै बुझ्न सकिनन्। ती व्यक्तिले जमुनालाई परेको चिठ्ठा प्राप्त गर्ने प्रक्रियाका लागि सुरूमा तीन लाख रूपैयाँ रकम जम्मा गर्नुपर्छ भने। त्यसपछि बल्ल लाखौं रकमसहित उपहार पाइने ती व्यक्तिले जमुनालाई विश्वासमा पारे।
उनले रकम जोहो गर्न स्थानीय केहीसँग ऋण सापटी मागिन्। भने जति रकम नपुगेपछि आफ्ना सुनका गहना बेचिन्।
स्थानीय पत्रकार नारायण वलीका अनुसार जमुनाले स्थानीय सिम्ली बजारस्थित एक मोबाइल पसलबाट पहिलो पटक ती व्यक्तिको खातामा ८५ हजार रूपैयाँ जम्मा गरिन्। उनले दाजुलाई पठाउनु छ भन्दै क्युआरमार्फत एक बैंकमा रहेको खातामा पैसा जम्मा गर्न लगाएकी थिइन्। उनै मोबाइल पसल सञ्चालकलाई पैसा दिएर माघ २४ गते दिउँसो थप ४५ हजार रूपैयाँ जम्मा गर्न लगाइन्।
उनले ससुरा तिखे कामीसँग पनि पैसा मागेकी थिइन्।
ससुराले छैन भनेपछि जमुनाले अन्तिम समयमा आफूलाई लाखौंको चिठ्ठा परेको र पैसा आउन लागेको सुनाएकी थिइन्।
ससुराले बुहारीको कुरा सुनेर चिठ्ठाको पैसा मिलेपछि मात्रै कर बुझाउने पैसा पठाउनु बुद्धिमानी हुने सल्लाह दिएका थिए। तर केही दिन पहिले जमुनाले ८५ हजार रूपैयाँ फसाइसकेकी थिइन्। अर्कोतर्फ उनलाई चिठ्ठाको रकम आउँछ भन्ने लालच जागिसकेको थियो। आशैआशमा ती अपरिचितले भनेझैं थप पैसा पठाएकी थिइन्।
जब उनले माघ २४ मा ४५ हजार रकम जम्मा गरिदिइन्, लालच देखाउने ती अपरिचितले जमुनालाई ब्लक गरिदिए। सम्पर्कविहीन भए।
त्यसपछि बल्ल जमुनाले आफू ठगीमा परेको कुरा बुझिन्। उनले भारतमा बस्ने श्रीमान विनोद विकलाई फोन सम्पर्क गरिन्। आफू अपरिचितको लालचमा पर्दा ठूलो ठगीमा परेको कुरा सुनाइन्।
'छोरालाई राम्रोसँग पाल्नुहोला, आत्महत्या गर्न जाँदैछु' भनिन्। 
विनोदले जमुनालाई फोनमा ढाडस दिँदै 'म छु, जे नहुनु थियो भइसक्यो, नआत्तिऊ, त्यो पैसा र लागेको ऋण म कमाएर तिरौंला' भनेर सम्झाउन खोजे।
विनोदले सम्झाउँदा सम्झाउँदै जमुनाले मोबाइल स्विच अफ गरिदिइन्। तत्कालै विनोदले घरपरिवारमा जमुनाले भनेको कुरा सुनाए। जमुना घरबाट निस्किसकेकी थिइन्। गाउँघरका केही मानिस जमुनाको खोजीमा निस्किए।
माघ २५ गते जमुना काल्नोको रूखमा झुन्डिएको अवस्थामा फेला परिन्। घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पोस्टमर्टमपछि शव बुझेर परिवारले शनिबार मात्रै जमुनाको अन्तिम संस्कार गरेको छ।  
रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार झुन्डिएको अवस्थामा फेला परेकी जमुनाबारे थप अनुसन्धान भइरहेको छ। उनको मोबाइलबाट अध्ययन र अनुसन्धान पनि सुरू गरेको छ।
'अपरिचितले सामाजिक सञ्जालमार्फत लाखौं रकम चिठ्ठामा परेको तथा गिफ्ट परेको भन्दै भ्रममा पारेर जमुनालाई रकम हाल्न लगाएको कुरा परिवार र समाजबाट सुनिएको हो। वास्तविकता थप अनुसन्धानपछि मात्रै भन्न मिल्छ,' प्रहरी प्रमुख विष्टले भने।

सम्बन्धित समाचार