आइतबार साँझ किन चलेन इन्टरनेट? हेर्नुहोस कारण
बिर्तामोड । आइतबार साँझ इन्टरनेट नचल्दा प्रयोगकर्ताहरुले हैरानी व्यहोर्नु परेको छ । अचानक इन्टरनेटमा देखिएको समस्याका कारण प्रयोगकर्ताहरु हैरान भएका हुन् ।
भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथबापत २ वर्षको करिब ६ अर्ब बढी रुपैयाँ भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने इन्टरनेट सेवामा देशभर नै समस्या आएको थियो । यसको मार देशभरका इन्टरनेट प्रयोगकर्ताले भोग्नु र्पयो ।
आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।
उनले भने, ‘साँझ ८ बजेदेखि देशभरका इन्टरनेटमा समस्या आएको हो । किनकी भारतीय इन्टरनेट कम्पनी एयरटेल २ घण्टादेखि डाउन भयो ।’
उनका अनुसार इन्टरनेट प्रयोगकर्ताहरुले वल्र्डलिंक, सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहे ।
उनले गुनासो गर्दै भने, ‘ हामीले सरकारले पटक–पटक भनेका थियौं, आग्रह गरेका थियौं । तर दुई वर्ष भइसक्यो । भारतीय कम्पनी एयरटेलको इन्टरनेट ब्याण्डविथ बापतको करिब ६ अर्ब बढी रुपैयाँ तिरेका छैन। त्यसकारण रिसले उसले (एयरटेल) नेपालको इन्टरनेट जतिबेला मन लाग्यो, त्यतिबेला काटिदियो । यसमा हामीले केही भन्नै सकेका छैनौं ।’
अब हुने इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने आइस्पानको भनाइ छ । उनले भने, ‘हामीलाई आयकर, रोयल्टीलगायतका करमाथि कर थोपर्ने अनि पैसा पठाउन विदेशी मुद्राको पनि सिफारिस नगर्दा दोधारमा छौं । यसको जिम्मा अब सरकारले लिनुपर्छ ।’