२०८३ आश्विन १७ गते , शनिबार

जिउँदै मानिस जलाउन खोज्ने चार जना प्रहरी नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८१ माघ २१ गते , सोमबार
जिउँदै मानिस जलाउन खोज्ने चार जना प्रहरी नियन्त्रणमा

बिर्तामोड । तेह्रथुमको आठराई गाउँपालिका–५ ढोडेनीका धनपति प्रसाईंलाई जिउँदै आगोमा जलाउन खोज्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ ७ बजे तिर भएको उक्त घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक प्रमोद खडकाका अनुसार पक्राउ पर्नेमा गंगाबहादुर जिमदार, धनबहादुर तामाङ, अशोक तामाङ र बसन्त तामाङ रहेका छन् । पक्राउ पर्ने सबै सोहि स्थानका हुन् ।

प्रसाईं र पक्राउ पर्नेबिच भने कुनै दुश्मनी नदेखिएको प्रहरीले जनाएको छ । ‘चारै जनाले मादक पदार्थ (मापसे) सेवन गरेका रहेछन् । साँझमा खोल्सा छेउमा उनीहरूको जम्काभेट भएको रहेछ,’ उनले भने, ‘भनाभन हुँदा उनीहरूले झिक्रामा आगो लगाएर त्यहाँ धकेलिदिएका रहेछन् ।’

प्रहरीका अनुसार आगोमा घचेट्नु अगाडि उनीहरूले कुटपिटसमेत गरेका थिए । कुटपिटबाट उनको नाकको हड्डी भाँच्चिएको र दाँतमा समेत समस्या रहेको छ । कुटपिटपछि आवेगमा आएर मार्ने उद्देश्यले नै आगोमा हाले पनि प्रसाईं भागेर बाँचेको प्रहरी निरीक्षक खड्काले बताए ।

आगोले पोलेर धनबहादुरको कानमा चोट लागेको छ । उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

पक्राउ परेका चारै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार