बिर्तामोड महोत्सवमा महिला उद्यमीले राखे अनेक उत्पादन
बिर्तामोड । झापाको बिर्तामोडमा मंगलबारदेखि जारी एपोलो पेन्टस् बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरु राखिएको छ । ताप्लेजुङदेखि जुम्लासम्मका उद्यमी महिलाले उत्पादन गरेका विभिन्न उत्पादनहरु महोत्सवको स्टलमा राखिएको हो ।
जुम्लाकी गंगादेवी राउतले आफ्नै खेतबारी र जिल्लामा उत्पादित अग्यार्निक कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनि उनको स्टलमा रहेको छ ।
पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाट भीर माहुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधीय गुण भएको मह र लेकाली भेडाको ध्यूसमेत उपलब्ध छ ।
ताप्लेजुङस्थित फुङ्लिङकी माया गुरुङले अलैंचीको सराबाट निर्मित हस्तकलाका आर्कषक सामग्रीले स्टल सजाएकी छिन् । उनले अलैँचीको सराबाट बनेको बस्ने मुढा, पिरा, ढाकी लगायत सामाग्री राखेकी छन् ।
अग्यार्निक कपुरधुप उत्पादन र प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो बस्तु र परामर्श सहित महोत्सवको स्टलमा पुगेकी छिन् ।
झापाकै जिना बस्नेत १२ वटा फरक÷फरक अचारका प्याकेजिङ लिएर स्टल पुगेकी छिन् । उनको स्टलमा हस्तकलाका माला, कुसन र गुडिया भेटिन्छन् । च्याउको सुकुटीपनि उनले राखेकी छिन् । सहारा सतासी महिला महुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको छ । स्वरोजगार मुलक उद्योगका सञ्चालकलाई बिशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार पाकिस्तानी लेदर, भारतीय किचन आइटम , बंगलादेशी गार्मेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन् ।
वाणिज्य संघ अन्तरगतकै महिला उद्यमी समूहले अग्र्यानिक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले जनाएकी छिन् । महोत्सव स्थलमा अन्य विभिन्न होटलहरु समेत सञ्चालनमा रहेका छन् ।