सक्रिय बन्दै बिर्तामोडका विषयगत समिति
बिर्तामोड । बिर्तामोड नगरपालिका द्वारा गठित विषयगत समितिहरू पुनः सक्रिय हुन थालेका छन्। शैक्षिक सत्र २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा नगरपालिकाले घोषणा गरेपछि शिक्षकहरू सक्रिय हुन थालेका हुन् ।
शैक्षिक गुणस्तर र उपलब्धिलाई वृद्धि गर्नका लागि पालिका स्तरीय पाँचवटा विषयगत समितिहरु गठन भएपछि विषयगत समितिहरुले विभिन्न शैक्षिक कार्यक्रमहरू गर्दै आएका छन् । यसै क्रममा अंग्रेजी विषय समितिले शुक्रबार प्राथमिक तहमा अध्यापन गराउने शिक्षकहरूका लागि एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
बिर्तामोड नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका शिक्षकहरू सहभागी उक्त कार्यशालामा प्राथमिक तहमा अंग्रेजी विषय शिक्षणका विभिन्न अभ्यासहरूको प्रस्तुति गर्नुका साथै रिडिङ, राइटिङ र ग्रामर शिक्षणमा अपनाइने नयाँ शिक्षण कौशलहरु प्रस्तुत गरिएको थियो।
उक्त कार्यशालालाई सहजकर्ताहरू धर्मेन्द्र भट्टराई, केशव उप्रेती र सानबहादुर बस्नेतले सहजीकरण गरेका थिए । कार्यशालामा २५ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
अंग्रेजी विषय समितिका संयोजक लक्ष्मण सेवाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखा अधिकृत लासाङ तामाङले शिक्षकहरूका समस्याहरुलाई आवश्यकताको आधारमा समाधान गर्दै जाने लक्ष्य लिएको बताए । सहभागीहरूको तर्फबाट सुषमा तामाङ र पिताम्बर मिश्रले यस प्रकृतिका कार्यक्रमहरूले शिक्षकहरूलाई शिक्षण क्रियाकलापमा सहयोग पुग्ने बताउँदै आगामी दिनमा समेत थप कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने बताएका थिए।