अपाङ्गता भएका व्यक्तिहरुका लागि बिर्तामोडमा स्वास्थ्य शिविर आयोजना हुँदै
बिर्तामोड । बिर्तामोड नगरपालिकामा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
करुणा फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत नगरका सबै वडामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य शिविर संचालन हुने भएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर सम्पन्न गर्नका लागि सबैले सहयोग गरिदिन आग्रह गरिन् ।
नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन अझै प्रभावकारी ढंगले अगाडी बढाउनु पर्ने बताए । अहिलेसम्म भएको ४३ प्रतिशत लगत संकलन कमी भएको भन्दै कुनै पनि प्रकारका अपाङ्गता भएका व्यक्ति छुट्न नहुनेमा उनले जोड दिए ।
यस शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार मात्र नभई उनीहरुको शारीरीक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन हुने करुणा फाउण्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए ।
शिविरमा हार्डजोर्नी तथा नसा रोग, नाक कान घाँटी, आँखा, फिजियोथेरापिष्ट, मेडिकल डाक्टर, मनोचिकित्सक लगायतका विशेषज्ञहरुको सेवा उपलब्ध हुनेछ ।
स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उपप्रमुख संग्रौलाको अध्यक्षता तथा नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित बैठकले १० वटा वडामा शिविर सञ्चानको मिति तय गरेको हो ।
तालिका अनुसार पुस ५ गते ६ नम्बर वडा कार्यालय, पुस ६ गते १ नम्बर वडा कार्यालय, ७ गते वडा नम्बर २ को वीर अमरसिंह माध्यमिक विद्यालय, ८ गते ८ नम्बर वडा कार्यालय, ९ गते वडा नम्बर ९ को शहिद लक्ष्मी प्रावि, १० गते वडा नम्बर १०को वडा कार्यालय, ११ गते वडा नम्बर ४ को पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर ५ को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर ७ को जनता प्रावि र १४ गते वडा नम्बर ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने छ ।