पूर्वाञ्चल स्वास्थ्य सहकारीमा पुनः नरेश खरेल
बिर्तामोड । पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लि.को अध्यक्षमा पुनः नरेश खरेल चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न १२औँ साधारणबाट नरेश खरेल पुनः अध्यक्षमा चयन भएका हुन् ।
उपाध्यक्षद्वयमा रबिन कोइराला र पवित्रा महतारा प्रसाई चयन भएका छन् । प्रसाई यस अघि कोषाध्यक्ष थिइन् । यस अघि रहेको सचिव पद हटाएर सदस्य सचिवको व्यवस्था गरिएको र सो पदमा रोमनी भट्टराई चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा बुद्धिराम भट्टराई चयन भएका छन् ।
अन्य सदस्यहरुमा हरिचरण शिवाकोटी, कुलप्रसाद खरेल, खगेन्द्र इङनाम, चन्द्रा श्रेष्ठ, धनराज योङहाङ, श्याम ढकाल, निलमणि बराल, ललिता बस्नेत, डम्बर बस्नेत, भोलादेवि भट्टराई र राजेन्द्रकुमार बस्नेत चयन भएको सदस्य सचिव तथा कार्यकारी प्रमुख रोमनी भट्टराईले जानकारी दिए ।
त्यस्तै टंक विश्वकर्माको नेतृत्वमा राजेन्द्र लिङदेन र तुलसी भण्डारी सदस्य रहेको लेखा सुपरिवेक्षण समिति चयन भएको छ ।
संस्थामा ३८८ जना शेयर सदस्यहरुको ७ करोड ९३ लाख ८६ हजार रुपैँया शेयर पूँजी रहेको सदस्य सचिव भट्टराईले जानकारी दिए ।
कार्यक्रममा संविधानसभा सदस्यहरु सुधीरकुमार शिवाकोटी, केदार सञ्जेल, कतारका पूर्व राजदूत नारद भारद्वजलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रसाई र पाँच बर्षे रणनीतिक योजना सचिव रोमनी भट्टराई र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक टंक विश्वकर्माले प्रस्तुत गरेका थिए ।
संस्थाले मनमोहन पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल र स्टाफ नर्स, एच ए र फार्मेसी अध्यापन गर्ने कलेज सञ्चालन गर्दै आएको छ ।