निरौला हत्या काण्डका अभियुक्त थापा पक्राउ
बिर्तामोड । कात्तिक ६ गते मावा खोलाको पुलमा भएको दमक-९ का ३७ वर्षीय यामु निरौला (देशु)को हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बुद्धिमान थापालाई पक्राउ गरेको छ । दमक-८ का थापा घटनाको योजनाकार भएको पीडित परिवारले आरोप लगाउँदै आएका थिए । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
थापा प्रदेश सांसद होम थापाका सहोदर भाइ र नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाका सहोदर दाजु हुन् । राजनीतिमा निकै प्रभाव जमाएका दमक ८ का थापा परिवारका बुबा हरिश्चन्द्र थापाको १५ दिनअघि निधन भएपछि फरार सूचीमा रहेका बुद्धिमानलाई प्रहरीले काजकिरिया सकिएपछि आज पक्राउ गरेको हो । उनीहरु दाजुभाइ सपरिवार दमक ८ स्थित निवासमा स्वर्गीय बुबाको काजकिरियामा बसेका थिए । थापाका बुबाको १३औं दिनको पुण्यतिथि मंगलवार परेको थियो । पक्राउ परेका थापालाई सदरमुकाम लगिएको छ ।
राजनीतिक संरक्षण रहेको थापालाई घटना भएको २३ दिनपछि प्रहरीले पक्राउ गरेको हो । शुरुमा उनीविरुद्ध जाहेरी लिन नमानेको दमक प्रहरीले पीडितको आन्दोलनपछि मात्र जाहेरी लिन बाध्य भएको थियो । निरौला हत्यामा संलग्न ९ जनामाथि जाहेरी परेको छ । त्यसमध्ये ८ जना पक्राउ परेका छन् भने सुनसरी इटहरीका डेबिड घले फरार रहेका छन् ।
हत्या आरोपमा थापासहित संखुवासभा मादी नगरपालिका-१० घर भई दमक-३ बस्ने गणेश दर्जी, उर्लाबारी-६ का प्रकाश कार्की, उर्लाबारी-७ का ध्रुव गौतम, एमाले कार्यकर्ता नमकुमार चेम्जोङ, दमक-३ का राजु भनिने शेरबहादुर नेम्बाङ, दमक-८ का पूर्व वडा सदस्य तथा नगर खेलकुद विकास समिति दमकका अध्यक्ष भीम चम्लागाई र एमाले कार्यकर्ता गोपाल भण्डारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
मृतक परिवारले चर्को आन्दोलन गरेपछि मात्र प्रहरीले घटनामा संलग्न आरोपितहरुमाथि जाहेरी लिएको थियो । पक्राउ पूर्जी जारी भएपछि घटनाको ७ दिनपछि परिवारले निरौलाको अन्त्येष्टि गरेको थियो । गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४:२४ बजे दमक-३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो । निरौलालाई घटनास्थलमा कुटिकुटी हत्या गरेको सीसीटिभी फुटेजमा देखिएको थियो ।