पूर्वमन्त्री मनाङे पक्राउ, आजै कारागार चलान गरिने
झापा । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । उनलाई प्रहरीले अदालतमा उपस्थित गराएर कारागार चलान गर्ने भएको छ ।
प्रहरीले मनाङेलाई आज काठमाण्डौको सानोभर्याङबाट पक्राउ गरेको हो । मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
मनाङे यस अघि ३२ महिना जेल बसिसकेका छन् भने २८ महिना जेल बस्न बाँकि छ ।