मनमोहन प्राविधिक विश्वविद्यालयमा व्यवस्थापन कानुनको पढाई हुने
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातकोत्तरमा पढाई सुरु गर्ने भएको छ ।
विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यहि मंसिरदेखि पठनपाठन शुरु हुने गरि स्नातकतर्फ विविए एलएलबी र स्नातकोत्तरतर्फ अपराध शास्त्रमा एलएलएम कक्षा शुरु गर्ने तयारी पुरा गरेको हो ।
स्नातकतर्फ नेपालमै पहिलो पटक विविए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाई शुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्त्ति उत्पादन गर्न हामीले नयाँ नमुना कोर्ष निर्माण गरेर पठनपाठन शुरु गराउन लागेका हौ,’ उपकुलपति पोखरेलले भने ।
उपकुलपति पोखरेलका अनुसार विविए एलएलबीको कोर्ष ५ बर्षको हुनेछ । विद्यार्थीहरुले अति न्युन शुल्क ४ लाख ५० हजारमै कोर्ष पुरा गर्न पाउनेछन । मनमोहनले नयाँ कोर्ष अनुसार कानुन पढन चाहने विद्यार्थीहरुलाई विशेष छात्रबृित्तको व्यवस्थापनि गरेको छ । महिला, दलित लगायतलाई ४५ सिटको कोटा मध्येबाट दश प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
विविए एलएलबी कोर्षमा सैद्धान्तिक नभएर बढि प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीहरुले आफै अनुसन्धान र सर्भे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरि खरिद प्रकृयाबारे पनि विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिइने बताइएकोछ ।
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेका अनुसार नयाँ कोर्ष अनुसार विविए एलएलबी र एलएलएमतर्फ कानुनी शिक्षा पढाउन विदेशबाट समेत विज्ञ शिक्षकहरु ल्याइने उपकुलपति पोखरेलले जानकारी दिए ।
उक्त कोर्ष पढ्न चाहने विद्यार्थीहरुले कार्तिक मसान्तभित्र अनलाइन मार्फत आवेदन दिइसक्नुपर्नेछ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा हालसम्म सिभिल र ईलेक्ट्रोनिक्स एण्ड ईलेक्ट्रिकल ईन्जिनियरिंगमा स्नातक, विफर्मातर्फ स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तरको पढाई शुरु गरिसकेको छ ।
२०७६ मा स्थापना भएको यो विश्वविद्यालयले दश बर्षभित्र तीन वटा स्कुल अन्तर्गत विभिन्न २८ बिषयमा पिएचडीसम्मको पठनपाठन गराउने लक्ष्य लिएको बताइएकोछ ।