दुर्गा प्रसाई अभियानका दुई जना पक्राउ
बिर्तामोड । भारतीय ट्रकमा आगजनी गर्ने कार्यमा संलग्न भएको भन्दै दुर्गा प्रसाई अभियानका दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।
प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बल झापा संयोजक भीम तुम्बापो लिम्बू र सहसचिव सुरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
हल्दिबारी-१ स्थाई घर भई हाल बिर्तामोड-५ बस्दै आएका ४० वर्षीय लिम्बु र बिर्तामोड-७ बस्ने ३३ वर्षीय चौधरीलाई असोज ६ गते राति कन्काईको बिरिङ पुल र बिर्तामोड-६ स्थित गिरिबन्धु चिया बगान अगाडि गरी दुईवटा भारतीय ट्रकमा आगजनी गर्ने कार्यमा संलग्न भएको आरोप छ ।
असोज ६ गते राती अन्दाजी १०:३० बजे कनकाई-८ स्थित विरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकर नेपालको सिरहातर्फ कुमार महतोले चलाई लाँदै गरेको युपी ५८ ए टी ४५९३ नम्बर को भारतीय ट्रकलाई सोही दिशाबाट मोटरसाईकलमा आएका व्यक्तिहरूले ओभरट्याक गर्दै मोटरसाईकलको पछाडी सवार व्यक्तीहरुले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोल बम ट्रक चालकलाई समेत मार्ने नियतले ट्रकको क्याबिनमा प्रहार गर्दा ट्रक चालक आगो लागेर घाईते भएको र ट्रक जलेको प्रहरीले जनाएको छ ।
त्यस्तै ७ गते बिहानको राति २:३० बजे बिर्तामोड-६ गिरिबन्धु टि स्टेट स्थित पुर्व पश्चिम राजमार्गमा बिर्तामोडबाट काकडभिट्टा जाँदै गरेको डब्लुबी७३ई३०५६ नम्बरको भारतीय ट्रक र चालकलाई लक्षित गरी ट्रकको अगाडीको भागमा आगो लगाएर चालकको समेत ज्यान लिने गरी प्रहार गरी आगजनी गरी घाईते बनाएकोमा चालक भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न भई फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा मङ्गलबार बिर्तामोड-७ बाट पक्राउ गरी झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको र अन्य फरार प्रतिवादीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।