गौहत्यामा संलग्न एक महिलासहित ४ जना पक्राउ
बिर्तामोड । भदौ १८ गते राति दमकमा भएको गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दमक २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ बस्ने ४४ बर्षीय प्रेमबहादुर बिष्ट, छाप्रो नम्बर ए३–२०८ बस्ने ३८ बर्षीय खगेन्द्र दुलाल, छाप्रो नम्बर ए२–१२० बस्ने ३२ बर्षीय बिधान थापा र दमक ४ बस्ने ४५ बर्षीया गिता श्रेष्ठलाई पक्राउ गरेको हो ।
यस अघि नै बिष्ट चोरी, डाका र सार्वजनिक अपराध, दुलाल जबर्जस्ती करणी र पशुपंछीजन्य कसुर तथा थापा सार्वजनिक कसुरमा सजाय भोगिसकेका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुले दमक १ का लछुमन बिष्टको गर्भिणी गाई चोरी गरी गोठबाट अन्दाजी १ किलोमिटरको दुरीमा रहेको प्लटिङमा लगेर मारेको र खुट्टा, करङ तथा घाँटीको मासु लगेर अन्य भाग घटनास्थलमा नै छोडेको प्रहरीले जनाएको छ ।
प्रहरीले निजहरुको साथबाट खुकुरी, बञ्चरो, मासु बोक्न प्रयोग भएको झोलासमेत बरामद गरेको जनाएको छ ।
गौहत्या भएको भन्दै विरोधसहित तत्काल दोषीलाई पक्राउ गरी कारबाही गर्न विभिन्न हिन्दुवादी संघसंगठनहरुले प्रहरीमाथि दबाब बढाएका थिए ।