दुर्गा माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गुरूभक्तले दिए विद्यालयलाई कम्प्युटर र वासिङमेशीन
बिर्तामोड । बिर्तामोड-९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका १६४ जना विद्यार्थीहरूले स्कुल ब्यागका साथै शिक्षण सामग्री प्राप्त गरेका छन् । रोटरी क्लब अफ डिल्ली बजार काठमाण्डौ र रोटरी क्लब अफ बिर्तामोडले संयुक्तरुपमा उनीहरुलाई सो सामाग्री प्रदान गरेको हो ।
विद्यालयमा शुक्रबार आयोजित एक समारोहका बिच उक्त सामग्रीहरू प्रदान गरिएको विद्यालयक हो । रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोकाको पहलमा उक्त सामग्री व्यवस्थापन गरिएको थियो । रोटरी क्लब बिर्तामोडको संयोजनमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत १६४ जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
शैक्षिक सामग्री वितरण समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रोटरी क्लबले सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक सामग्री प्रदान गरेर विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याएको भन्दै आभार व्यक्त गरे । रोटरी क्लबले स्थानीय तहसँगको साझेदारीमा ह्विलचेयर लगायतका सामग्रीहरू प्रदान गरेर सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताए ।
कार्यक्रमका अध्यक्षसमेत रहेका रोटरी क्लब अफ डिल्लीबजारका प्रेसिडेन्ट सागरनिधि तिवारीले रोटरी क्लबले देशका विभिन्न स्थानहरूमा सामाजिक सेवाहरू गर्दै आएको जानकारी दिए । उनले दुर्गा माविलाई सानो सहयोग गर्न सकेकोमा खुसी व्यक्त गर्दै विद्यालयको आवश्यकता अनुसार खानेपानी, शौचालय र साइकल पार्किङ साथै ग्राउन्ड पेभर्स गर्ने कार्यका लागि प्राथमिकता साथ काम गरिरहेको बताए ।
सोही कार्यक्रममा बिर्तामोड रोटरी क्लबका सदस्य रोटरीयन एवम् कञ्चनजङ्गा माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपाने र परिवारले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि एक थान वासिङ मेसिन र पाँचवटा सेतो छडी हस्तान्तरण गरे ।
न्यौपानेले गरामनी क्षेत्रमा रहेका अन्य सामुदायिक विद्यालयहरू देवकोटा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र लक्ष्मी आधारभूत विद्यालयलाई दुई-दुई थान कम्प्युटर समेत प्रदान गरे ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले दातालाई धन्यवाद दिए ।
कार्यक्रममा रोटरी क्लब अफ डिल्लीबजारका तर्फबाट निवर्तमान अध्यक्ष सम्झना पोखरेल, उपाध्यक्ष युवराज रोका, कोषाध्यक्ष सन्ध्या राजभण्डारी, आगामी अध्यक्ष प्रेम ओली, सदस्य कृष्णराज दुलाल, रोटरी क्लब अफ बिर्तामोडको तर्फबाट एसिस्टेन्ट गभर्नर सुजन प्रधान, विनोद बस्नेतलगायतको उपस्थिती रहेको थियो । विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले स्वागत गरेको कार्यक्रम शिक्षक धर्मेन्द्र भट्टराईले सञ्चालन गरेका थिए ।