बिर्तामोडको एसईई नतिजा : ६०.८७ प्रतिशत पास, एउटा विद्यालय निल
बिर्तामोड । बिर्तामोड नगरपालिकाका विद्यालयबाट ६०.८७ प्रतिशत विद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका छन् । परीक्षामा सहभागीमध्ये बिर्तामोडका एक हजार ३३६ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
बिर्तामोड नगरपालिकाका ४५ विद्यालयबाट २ हजार १९५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । सबैभन्दा बढी ५३४ जनाले ३.२-३.५९ जीपीए ल्याएको बिर्तामोड नगरपालिका शिक्षा शाखाले जनाएको छ । अनारमनी लिबर्टी स्कुलबाट १, बाल्मिकी एजुकेशन फाउण्डेशनबाट ३ र मनकामना माविका १ जनाले गरी जम्मा पाँच जनाले मात्र ३.९-४.० जीपीए ल्याएका छन् ।
सबैभन्दा बढी ग्रीनफिल्ड स्कुलका विद्यार्थी उत्तीर्ण भएका छन् । ग्रीनफिल्डबाट ३४ जना सहभागी भएका मध्ये ३३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सबैभन्दा कम देवि मावि खुल्लाबाट सहभागी ३४ जनामध्ये १ जनामात्र विद्यार्थी उत्तीर्ण भएको बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
यता वीर अमरसिंह माविको साधारण धारतर्फबाट सहभागी २१ जना विद्यार्थीमध्ये कसैले पनि उत्तीर्ण नगरेको तर प्राविधिक धारतर्फबाट सहभागी ३४ जनामध्ये २९ जना विद्यार्थी उत्तीर्ण भएको भण्डारीले बताए ।
सबैभन्दा बढी २०८ जना विद्यार्थी देवि माविबाट एसईई परीक्षामा सहभागी भएका थिए भने सबैभन्दा कम काबेली आवासीय माविबाट सहभागी थिए । काबेलीबाट ४ जना विद्यार्थी सहभागी भएकोमा ३ जनाले एसईई पास गरेका छन् ।