कोशी सरकारको वातावरण कर नीति कस्तो छ ?
बिर्तामोड । कोशी प्रदेशले कङ्क्रिट ब्लक उद्योगसहित नदीजन्य पदार्थ प्रशोधन गरी सञ्चालन हुने उद्योगमा वातावरण तथा औद्योगिक व्यवस्थापन कर लगाउने भएको छ । यसअघि यस्तो कर प्रदेश भित्रका सिमेन्ट तथा इटा उद्योगलाई मात्र लाग्दै आएको थियो ।
आगामी आवको बजेटमध्ये आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड रुपैयाँ बेहोर्ने लक्ष्य छ । कर नीति अन्तर्गत प्रदेश सरकारले वातावरण करको दायरा बढाएको हो ।
निजी सवारी धनीले ५ वर्षको कर एक मुष्ट तिरेर नवीकरण गर्न सक्ने प्रावधानलाई यस पटक पनि निरन्तरता दिइएको छ । अन्य प्रदेशको सरुवा सहमतिबाट यस प्रदेशमा दर्ता हुन आउने सवारी साधनलाई ५० प्रतिशत छुट दिने व्यवस्था यस वर्ष समेत निरन्तर रहने भएको छ ।
विगतमा वर्षमा संकलन भएको मनोरञ्जन कर एकमुष्ट बुझाएमा त्यसमा लाग्ने ब्याजमा छुट दिने समेत प्रदेश सरकारले बताएको छ । कोशी प्रदेश सरकार र स्थानीय तहले विज्ञापन गर्दा अब ३ प्रतिशतका दरले विज्ञापन कर कट्टा हुने भएको छ ।