वृद्धलाई चक्कु प्रहार गरी फरार धिमाल पक्राउ
बिर्तामोड । बुद्धशान्ति गाँउपालिका वडा नम्बर ३ बस्ने
बरूण धिमाललाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोड ३ बस्ने काशीनाथ गौतमलाई चक्कु प्रहार गरेको अभियोगमा धिमाल पक्राउ परेका हुन् ।
बिर्तामोड-३ स्थित विनिता ढकालको घरमा कोठाभाडा बस्दै आएका २८ वर्षीय धिमालले सोही घरको अर्को कोठामा डेरा गरी बस्दै आएका गौतमलाई जेठ ६ गते बेलुका ८:३० बजे चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट पेट तथा शरीरको विभिन्न भागमा चोट लागि सख्त घाइते भएका गौतमको विर्तासिटी अस्पतालमा उपचार गरिएको थियो । गौतमलाई चक्कु प्रहार गरी फरार भएका धिमाललाई प्रहरीले शनिबार बुद्धशान्तिस्थित पुलचोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका धिमाललाई जिल्ला अदालत झापाबाट ज्यान मार्ने उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।