२०८३ बैशाख ५ गते , शनिबार

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बुझाए निवास र गाडीको साँचो

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १८ गते , शुक्रबार
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बुझाए निवास र गाडीको साँचो

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पदबाट हटेको २२ दिनपछि विराटनगरस्थित मुख्यमन्त्री निवास र गाडीको चाबी फिर्ता गरेका छन् ।
कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री चयन गर्ने प्रक्रियाको विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालतमा गएका थिए । उक्त मुद्दाको अझै छिनोफानो भएको छैन । 
यद्यपि अदालतबाट आफू पुनः मुख्यमन्त्री पदमा पुनःबहाली हुने दाबी गर्दै मुख्यमन्त्री केदार कार्कीले प्रयोग गरेको भिभिआइपी ०६२७ नम्बरको कार, स्वकीय सचिवले प्रयोग गर्ने ००४६ नम्बरको कार, प्रमुख स्वकीय सचिवले प्रयोग गर्ने ६२४ नम्बरको स्कर्पियो र २५१७ नम्बरको स्कुटर बुझाएका थिएनन् । मुख्यमन्त्री कार्यालयको पटक पटकको ताकेता पछि निवर्तमान मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवस राजवंशीले मुख्यमन्त्री कार्यालय पुगेर दुई वटा गाडी, निवास र स्कुटरको चाबी स्टोर शाखामा दाखिला गरेका हुन् । 
मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक सम्बन्धी ऐन २०७५ मा मुख्यमन्त्रीबाट पदमुक्त भएपछि एक हप्ताभित्र निवास र सरकारी सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाको उल्लङ्घन गर्दै कार्कीले भने काठमाण्डौस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालय, त्यहाँको एउटा कार सहित तीन वटा गाडी र विराटनगरस्थित मुख्यमन्त्री निवासको चाबी आफैँसँग राखेका थिए । 
केदार कार्कीले निवासको चाबी हस्तान्तरण गरेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की भने डेराबाट निवास सर्ने तयारी गरेका छन् ।  मुख्यमन्त्री कार्की अहिले विराटनगर–३ मा डेरामा बस्दै आएका छन् । 

सम्बन्धित समाचार