विष्णुकुमारी विष्ट हत्या प्रकरण : मृतक शौचालय गएको बेला घर भित्र छिरे अभियुक्त
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित शिवनगर टोलकी ६७ बर्षीया विष्णुकुमारी विष्ट शौचालय गएको समयमा हत्याका मुख्य योजनाकार भनिएका गंगाप्रसाद राजवंशी घरभित्र छिरेको पाइएकोछ । हत्यामा संलग्नलाई सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानबाट विष्ट शौचालय गएको समयमा अभियुक्त घरभित्र छिरेको पाइएको जनाएको हो ।
एकपटक घरमा चोर आएको भनेर गाउँलेलाई खबर गरेर हल्लाखल्ला गरेर सुतेकी विष्ट बैशाख २६ गते विहान मृत फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संलग्न पाँच जनालाई आज जिल्ला प्रहरी कार्यालय झापामा सार्वजनिक गरेको छ । घटनाको मुख्य योजनाकार बिर्तामोड–४ शिवनगरटोल बस्ने २३ बर्षीय गंगाप्रसाद राजवंशी उनले चोरी गरेको सामान लुकाउन सहयोग गर्ने उनकी श्रीमती २० बर्षीया बर्षा राजवंशी, घटनाका मतियार सोहि स्थानका २३ बर्षीय महेश राजवंशी, चोरीको सामान बेच्न सहयोग गर्ने ३३ बर्षीय ज्याक भनिने भगीरथ माझी र चोरीको सुन खरिद गर्ने अर्जुनधारा ६ का ४३ बर्षीय धनबहादुर कामीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
यसरी बनाए योजना
वैशाख २६ गते साँझ ६ बजे महेश राजवंशी गंगाप्रसाद राजवंशीको घरमा गएर चोरी गर्न जाने सल्लाह गर्छन् । करीब ९ बजे उनीहरु सिटी सफारीको टायर खोल्न प्रयोग हुने मार्तोल र ३ थान रेञ्च लिएर सुमन राजवंशीको घरमा पुग्छन् । त्यहाँ उनीहरु चोरी गर्न असफल भएपछि विष्णुकुमारी विष्टको घरमा पुग्छन् । घरको कम्पाउण्ड वाल नाघेर गंगाप्रसाद विष्णुकुमारीको घरको पश्चिम पटिको घरको झ्याल खोल्न खोज्दा मृतक विष्टले घरमा चोर आए जस्तो छ भनी फोन गरेको सुनेपछि गंगाप्रसाद त्यहाँबाट भाग्छन् र महेशपनि आफुले बोकेको मार्तोल झाडीमा फ्याँकेर गंगाप्रसादलाई पछ्याउँदै भाग्छन् ।
उनीहरु त्यहि नजिकै रहेको डम्बरकुमारी प्रसाईको घरको झ्यालबाट एउटा झोला चोरी गर्छन् र त्यहाँ भएको नगद सात सय रुपैया झिकेर आफुले ल्याएको रड र रेञ्ज त्यहि झोलामा हालेर मकै बारीमा लुकेर बस्छन् । चोर आएको खबर पाएका छिमेकीहरु गएर विष्टको घर वरपर लाइट लगाएर हेर्छन र केहि बेर पश्चात आ–आफ्नो घर जान्छन् । मानिसहरु घर फर्किएपछि पुनः गंगाप्रसाद विष्टको कम्पाउण्डबाट भित्र जान्छन् र महेश कम्पाउण्डबाहिर बसेर रेखदेख गर्छन् । सुत्नु अगाडी विष्णुकुमारी शौचालय जान्छिन् सोहि मौकामा गंगाप्रसाद घरभित्र पस्छन् र मृतक सुत्ने भन्दा पूर्वको कोठामा करिब एक घण्टा खाट मुनि लुकेर बस्छन् । विष्णुकुमारी शौचालयबाट फर्किएर फोन सम्बाद गर्छिन सो समयमा गंगाप्रसाद आफु लुकेको कोठाको खाटमाथि बसेर दिशा गर्छन । विष्णुमाया फोन सम्बाद सकेर सुत्ने तरखर गरेपछि गंगाप्रसाद घरबाट बाहिर निस्कन खोज्दा मृतकले चोर आयोभन्दै कराउन लागेपछि हातमा बोकेको रडले मृतक विष्टको टाउकोमा तीन पटक प्रहार गर्छन् ।
मृतक भुईमा ढलेपछि उनले लगाएको सुनका गरगहना गंगाप्रसादले लुट्छन् र सोहि रडले दराज फोरेर त्यहाँ भएका सुन र मोबाइल चोरी गर्छन् र मृतकले टेबलमा राखेको चाबीले घरको ढोका खोलेर २ः४५ बजे घर गएर चोरेका सामान खाटमुनी लुकाई मोबाइल स्वीच अफ गर्छन र सन्ठीको बोरामा राखेर सुत्छन् ।

हत्यारासम्म यसरी पुग्यो प्रहरी
घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टसहितको प्रहरी टोली घटनास्थल पुग्छन् । घटनालाई गम्भीर रुपमा लिएको प्रहरीले धरानबाट कुकुर मगाएर घटनाको प्रारम्भिक अनुसन्धान शुरु गर्छ तर कुकुरले ठोस परिणाम दिन नसकेपछि विभिन्न व्यक्तिहरुलाई प्रहरीले सोधपुछ शुरु गर्छ । केन्द्रिय अनुसन्धान विभाग, प्रदेश अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको चार वटा टीम घटनास्थलमा कालो झोला अभियुक्तले छाडेकाले उक्त घटनालाई ‘अपरेशन व्ल्याक व्याग’ नाम दिएर अनुसन्धानमा जुट्छन् ।
मानिसहरुलाई सोधपुछ गर्ने क्रममा बैशाख २७ गते प्रहरी चौकी बिर्ताबजारमा अभियुक्त गंगाप्रसादलाई लगेको समयमा उनले श्रीमती बर्षा राजवंशीलाई मोबाइल लुकाएको बोरा खोलामा फाल्न लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए । विभिन्न व्यक्तिहरुसँगको बयानको क्रममा उक्त कुरा खुलेपछि राजवंशीतिर प्रहरीले शंकाको सुई तेस्र्याएको थियो । बयानको क्रममा अभियुक्तको बयान शंकास्पद पाएको प्रहरीले श्रीमती बर्षालाई पक्राउ गरेसँगै घटना पुष्टि भएको र गंगाप्रसादले आफुले घटना घटाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । गंगाप्रसादले घरको दक्षिणतर्फ रहेको कलको स्ल्याब मुनी लुकाएको चोरीको सुन प्रहरी समक्ष बर्षाले जिम्मा लगाएकी थिइन् ।
प्रहरीले गाडेको अवस्थामा सुनको सिक्का भएको बेरुवा औठी १ थान, सुनको हातमा लगाउने बाला १ थान, सुनको जन्तर १ थान, सुनको सिक्री १ थान, सुनको टप १ थान र चाँदीको कलश १ थान बरामद गरेको थियो । साथै घटनामा प्रयोग भएको मार्तोल र रेञ्जसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
जेठ १६ गते चोरी गरेको सुनको औँठी ज्याक भन्ने भगीरथ माझीको सहयोगमा अर्जुनधारा–६ स्थित हनुमान सुनचाँदी पसलका सञ्चालक धनबहादुर कामीलाई २० हजारमा गंगाप्रसादले बेचेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् । यो प्रहरीको ठूलो सफलता भएको उनले बताए । प्रत्यक्ष १४ जना र अप्रत्यक्ष दर्जनौँ प्रहरी परिचालन गरी घटनाको अनुसन्धान गरेको प्रहरीको भनाई छ ।