बिर्तामोडमा पहिलो पटक नेपाली भाषा शिक्षण सम्बन्धी प्रशिक्षण सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले २०८१ साललाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि गठित विषयगत समितिहरू सक्रिय हुन थालेका छन् । शुक्रबार बिर्तामोडको चारपाने स्थित साङ्गवेद संस्कृति माविमा आयोजित नेपाली भाषा शिक्षणमा भाषिक तथा व्याकरण विधिको प्रयोग सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ।
बिर्तामोड नगरपालिका द्वारा गठित नगरस्तरीय विषयगत समिति समन्वय संजालको आयोजनामा आयोजित नेपाली भाषा विषय समितिको संयोजनमा सञ्चालित उक्त नेपाली भाषा शिक्षण सम्बन्धी गोष्ठीमा पाठ्यक्रम विकास केन्द्रका प्राध्यापक डा. लेखराज निरौलाले नेपाली भाषा शिक्षणमा आएको कमी कमजोरीका कारण नेपाली भाषाको अस्तित्व नै संकटमा परेको बताए । नेपाली विषय शिक्षकहरू पछिल्लो भाषा शिक्षण सम्बन्धी जानकार नहुँदा उक्त संकट आएको निरौलाको भनाइ छ । सामान्यतया नेपाली भाषामा शिक्षण गर्नु सहज रहेको मान्यता भए पनि भाषिक सीपको विकास गर्न नेपाली भाषा शिक्षकहरूले अत्यन्तै संवेदनशील र गम्भीर हुनुपर्ने निरौलाले बताए । शिक्षकहरुले नेपाली भाषालाई सरल भाषाको रुपमा मात्र लिने गरेको तर भाषा शिक्षण सोचेजस्तो सहज नभएको उनको भनाइ रहेको छ ।
बिर्तामोड नगरपालिकाले विषयगत रुपमा भएका कमी कमजोरीहरूलाई सुधार गर्ने उद्देश्यले केही समयअघि विषयगत शिक्षकहरूको नगरस्तरीय भेला गराई समितिहरू समेत गठन गरेको थियो ।