बिर्तामोडमा सिकाई उपलब्धि सुधार अभियान घोषणा
बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिका स्तरीय सिकाई उपलब्धि सुधार अभियान २०८१ घोषणा गरिएको छ । बिर्तामोडमा आयोजित एक भव्य कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका मेयर पवित्रा देवी महतारा प्रसाईले उक्त अभियानको प्रारम्भ भएको घोषणा गरेकी हुन् ।
नगरपालिका आफैंले यस किसिमको बृहत्तर शैक्षिक कार्यक्रम पहिलोपटक आयोजना गरेको हो । शिक्षा युवा तथा खेलकुद शाखाले संयोजन गरेको उक्त अभियान अन्तर्गत पहिलोपटक पालिका स्तरीय विषयगत शिक्षकहरूको भेला भएको हो । समग्र शैक्षिक सुधारका लागि सरकारी तथा निजी विद्यालयहरूलाई एउटै मूलधारमा ल्याई शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको बताइएको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयबाट न्यूनतम तीनदेखि पाँच जनासम्म शिक्षकहरू सहभागी भएका थिए । सो भेलाले २१ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हस्ताक्षर गरेका छन् । प्रतिबद्धता पत्रमा न्यूनतम सिकाई उपलब्धि एक अंकले वृद्धि गर्ने, प्रत्येक विद्यालयमा विषयगत समिति गठन गरी विषयगत क्रियाकलापहरू सञ्चालन गर्ने, विद्यालयहरूमा भइरहेका राम्रा अभ्यासहरूलाई र नविनतम विधि तथा प्रविधिहरूलाई कार्यक्रमको आयोजना गरी आदानप्रदान गर्ने, हरेक शिक्षकले वार्षिक रूपमा न्यूनतम एउटा कार्यमूलक अनुसन्धान र एउटा घटना अध्ययन गरी विद्यार्थीका समस्याहरूको पहिचान गर्ने, शिक्षण सिकाइ क्रियाकलापमा आइसिटीको प्रयोग गरी एक्काइसौँ शताब्दी सुहाउँदो शिक्षण क्रियाकलाप गर्ने साथै विषयगत रूपमा छलफल अन्तरक्रिया तालिम र सम्मेलन को आयोजना गरी एकआपसमा अनुभव आदानप्रदान साथै सिकाइ गर्ने वातावरण सृजना गर्ने लगायत रहेको शिक्षक धर्मेन्द्र भट्टराईले जानकारी दिए ।
सोही भेलाले नगरपालिका स्तरीय पाँचवटा विषयका विषयगत समितिहरू समेत गठन गरेको छ । जसमा नेपाली विषय समितिको संयोजक झलक प्रसाद काफ्ले, अङ्ग्रेजी विषय समितिका संयोजक लक्ष्मण शिवाकोटी, गणित विषय संयोजक कृष्ण पौडेल, विज्ञान विषय संयोजक लक्ष्मीप्रसाद प्रसाई र सामाजिक विषय समिति गठन गरिएको छ । प्रत्येक विषय समितिको संयोजक सहित ७ जना सदस्य रहेका छन् । विषयगत समितिहरूलाई सहयोग र समन्वय गर्ने उद्देश्यले पालिकाले नौ सदस्य भएको नगर स्तरीय विषयगत शिक्षक सञ्जाल समेत गठन गरेको छ । जसको अध्यक्ष शिक्षा शाखाका प्रमुख रहेका छन् ।