प्रविधिको विकासले पत्रकारितामा फड्को : रविराज बराल
विराटनगर । सूचना र प्रविधिको क्षेत्रमा पछिल्लो समय भएको विकासले सञ्चार क्षेत्रमा फड्को मारेको बताइएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार विषयका प्राध्यापक रविराज बरालले त्यस्तो बताएका हुन् ।
प्रविधिको विकासको क्रममा आएको एआई प्रविधिले सूचना र सञ्चारको क्षेत्रले छलाङ मारेको बरालले बताए । प्रेस सेन्टर नेपाल कोशी प्रदेश समितिले आयोजना गरेको प्रविधिमैत्री पत्रकारिता तालिमलाई सहजीकरण गर्दै प्राध्यापक बरालले एआइको प्रयोगले काम गर्ने कुरालाई अत्यन्त सहज बनाउनुका साथै केही चुनौतीपनि थपेको उनले बताए।
सहजकर्ता बरालले प्रविधिलाई आफ्नो काममा सहजता ल्याउन पत्रकारले कसरी प्रयोग गर्ने भन्ने जानकारी गराएका थिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयसगको सहकार्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मन्त्री गणेश उप्रेतीले सरकारलाई सही बाटोमा हिँडाउन सञ्चारकर्मीहरुको महत्व भूमिका हुने भन्दै सकारात्मक आलोचना गर्न आग्रह गरे ।
प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, केन्द्रीय सचिवालय सदस्य दिपिन् राई, प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार नवोदित, फोनिजका भक्तसेर लिम्बुलगायतले कार्यक्रम सफलताको शुभकामना दिए ।
कार्यक्रममा कोशी प्रदेशका करिब ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
प्रेस सेन्टर कोशीका अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुजन तिम्सिनाले सञ्चालन गरेका थिए ।