२०८३ बैशाख ६ गते , आईतबार

पाठेघर खस्ने समस्यासम्बन्धि अन्तरक्रिया सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २७ गते , विहीबार
पाठेघर खस्ने समस्यासम्बन्धि अन्तरक्रिया सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा पाठेघर खस्ने समस्यासम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा एक दिवसीय कार्यक्रम बिहीबार सम्पन्न भएको हो । 

कार्यक्रममा महिला रोग विशेषज्ञ डा. ज्योति भजु लामाले पाठेघर खस्ने समस्यासम्बन्धि विस्तृत जानकारी दिएकी थिइन् । आधुनिकतासँगै प्रविधीको प्रयोग बढेपनि महिलाहरुमा पाठेघर खस्ने समस्या कम नभएको उनले जानकारी दिइन् । नेपालको तराईका जिल्लाहरुका महिला बढी यो समस्याबाट पिडित रहेको तथ्याङ्कहरुले देखाएको डा. लामाले जानकारी दिइन् । 

लामो समय प्रशव पीडा भएको, बच्चाको तौल बढी भएको, प्रशुती पश्चात लगातार खोकीको समस्या भएको र धेरै सन्तान जन्माएका महिलाहरुमा बढी पाठेघर खस्ने समस्या देखिएको उनले बताइन् । प्रसुती पश्चात आराम गर्नुपर्ने समयमा भारी काम गर्ने महिलाहरुमा पाठेघर खस्ने समस्या हुने उनको भनाई थियो ।

यो समस्या भएका महिलाहरुलाई नियमित पिसाब लागे जस्तो हुने, पिसाबमा संक्रमण हुने, कब्जियत, अल्सर, पिसाब चुहिने, ढाड दुख्नेजस्ता समस्या हुने डा. लामाले जानकारी दिइन् ।  

पाठेघर खस्ने समस्याबाट बच्न जनचेतना जगाउनु नै पहिलो उपाय भएको उनले बताइन् । यदि कसैलाई यो समस्या भए र पहिलो चरणमा नै पत्ता लागे फिजियोथेरापी गराउन सकिने, चरण बढ्दै गएको भए रिङ राख्न सकिने र अवस्था अझै खराब भएको भए पाठेघर नै फ्याँक्नु पर्ने उनले बताइन् । 

राज्यले महिलाको स्वास्थ्य क्षेत्रमा प्रशस्त लगानी गरेपनि पाठेघर खस्ने बिरामीको संख्या घटाउन नसकेको हेल्थ नेपालका कार्यकारी सम्पादक भिषा काफ्लेले बताए । पाठेघर खस्ने समस्या रोकथाम र शल्यक्रिया सम्बन्धि कार्यविधी निर्देशिका २०६५ नै बनाएर सरकारले काम गरिरहेको उनले बताए । नेपालको संविधानमा नै स्वास्थ्य र विशेषगरी महिला स्वास्थ्यको बिषयलाई समेटेको काफ्लेको भनाई थियो । 

कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा डा. लामाले जवाफ दिएका थिए ।

हेल्थ आवाजका सम्पादक जनक तिमिल्सिना, फोटो सम्पादक नवराज वाग्ले लगायत झापाली सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।      

सम्बन्धित समाचार