बिर्तामोडको ज्योती विकास र एभरेष्ट बैंकमा तोडफोड, चारजना पक्राऊ
बिर्तामोड । झापाको बिर्तामोडस्थित ज्योति विकास बैंक र एभरेस्ट बैंकमा तोडफोड भएको छ ।
दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता र नागरिक बचाउ महाअभियानका कार्यकर्ताहरू तोडफोडमा संलग्न भएको प्रहरीले जनाएको छ।
बिहान १२ बजेतिर बिर्तामोडमा श्रद्धाञ्जली सभा आयोजना गरेको महाअभियानका कार्यकर्ताहरूले ज्योति विकास बैंकमा पेट्रोल छर्किएर आगजनी गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रदर्शनकारीको ढुङ्गामुढाबाट एभरेस्ट बैंक भएको मायादेवी कम्प्लेक्समा क्षति पुगेको छ । कम्प्लेक्सको सिसाहरु फुटेको बताइएको छ। तोडफाेडपछि बैंकले सेवा बन्द गरेको जनाएको छ ।
तोडफोडमा संलग्न भएको आशंकामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।