आठ दिनमा सवा छ लाख झापालीले खाए हात्तीपाइलेको औषधि
बिर्तामोड । झापामा आठ दिनमा सवा छ लाख झापालीले खाए हात्तीपाइलेको औषधि कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आठ दिनको अवधिमा जिल्लाका ५ लाख ७६ हजार ८९३ जनाले हात्तीपाइलेको औषधि सेवन गरेका छन् ।
बैशाख १६ गतेदेखि शुरु भएको हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत बैशाख २३ गते अर्थात आठौ दिनसम्म जिल्लाका ५६ प्रतिशत मानिसले औषधि खाइसकेका छन् । जिल्लाको कुल जनसंख्या १० लाख १२ हजार ६४२ मध्ये आठौ दिनसम्म ५ लाख ७६ हजार ८९३ जनाले हात्तीपाइलेको औषधि खाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जुन ५६.९६ प्रतिशत हो ।
सबैभन्दा बढी बिर्तामोडबासीले औपाधि सेवन गरेका छन् । बिर्तामोडको कुल जनसंख्या १ लाख २० हजार ३३८ मध्ये आठौ दिनसम्म १ लाख २ हजार ६६४ अर्थात ८५.३१ प्रतिशतले औषधि खाएका छन् । त्यस्तै दोस्रो स्थानमा कन्काई नगरपालिका रहेको छ । कन्काईले कुल जनसंख्या ५४ हजार २१४ मध्ये आठौ दिनसम्म ४१ हजार ६९८ अर्थात ७६.९१ प्रतिशतलाई औषधि सेवन गराएको छ । तेस्रो स्थानमा रहेको बुद्धशान्तिले कुल जनसंख्या ५३ हजार १० मध्ये ४० हजार २२६ जना अर्थात ७४.१६ प्रतिशतलाई औषधि खुवाएर तेस्रो स्थान हासिल गरेको छ । त्यस्तै मेचीनगरले ७५ हजार ६३९ अर्थात ५६.७७ प्रतिशत ,अर्जुनधाराले ४६ हजार ५८० अर्थात ५३.६४ प्रतिशत , शिवसताक्षीले ३९ हजार ५७० अर्थात ५२.०२ प्रतिशत ,कमलले २२ हजार ३४२ अर्थात ४०.८४ प्रतिशत , दमकले ६३ हजार ८३७ अर्थात ५६.९७ प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै गौरादहले २० हजार ३६९ अर्थात ३३,०२ प्रतिशत , गौरीगञ्जले १७ हजार ४२८ अर्थात ४९.३४ प्रतिशत , झापा गाउँपालिकाले २१ हजार ८५६ अर्थात ५५.४० प्रतिशत , बाह्रदशीले १९ हजार ८२७ अर्थात ५२.३४ प्रतिशत , हल्दिवारीले १६ हजार ६९५ अर्थात ५०.८७ प्रतिशत , भद्रपुरले २२ हजार १९६ अर्थात ३१.१९ प्रतिशत र कचनकवलले ३९ हजार ६२२ अर्थात ७३.५५ प्रतिशतलाई हात्तीपाइलेको औषधि सेवन गराएका छन् ।
यस पटक अन्तिम अभियान बनाउन पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला पक्ष सबै लागिपरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए । यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेका छन् । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकामा गए मात्र सेवा सुविधा पाउने निर्णय गरिएको छ ।
अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।