जेष्ठ सदस्यको घरमा भत्ता र कोसेली पुर्याउँदै धौलागिरी पारिजात सहकारी
बिर्तामोड। झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जेष्ठ सदस्यको घरमा भत्ता र कोसेली पुर्याइरहेको छ।
जेष्ठ सदस्यहरूको सम्मानस्वरूप भत्ता र कोसेली पुर्याउने गरेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए।
६५ वर्षभन्दा माथिका महिला, ७० वर्षभन्दा माथिका पुरुष र ६० वर्षमाथिका एकल महिला सदस्यहरूलाई भत्ता प्रदान गर्ने गरिएको उनले बताए ।
भत्ता प्राप्त गर्नका लागि सेयर रकम ५ हजार रुपैयाँभन्दा माथि भएको, सदस्य भएको तीन वर्ष पूरा भएको र नियमित बचत गरेको हुनुपर्ने संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए।
त्यस्ता ज्येष्ठ सदस्यहरूलाई घरमै गएर दोसल्ला ओडाउनका साथै ३ हजार रुपैयाँ भत्ता र कोसेली प्रदान गर्ने गरिएको उनले बताए ।
विभिन्न सेवा केन्द्रहरू मार्फत २५० जनाभन्दा बढी जेष्ठ सदस्यहरुलाई भत्ता प्रदान गरिएको संस्थाले जनाएको छ।
झापाको नौ वटा स्थानमा सेवा केन्द्र मार्फत सेवा दिइरहेको धौलागिरी पारिजातमा १३ हजार ५०० बढी सदस्यहरू रहेका छन् भने साढे ६ करोड रुपैयाँभन्दा बढी सेयर पूँजी रहेको छ।