कक्षा १२ उत्तीर्णलाई जनरल नर्सिङ पढाउने तयारी
काठमाण्डौ । कक्षा १२ पास गरेका विद्यार्थीहरुले पढ्न पाउने नयाँ नर्सिङ कोर्स सुरु हुने भएको छ । ‘जनरल नर्सिङ कार्यक्रम’ को अवधि दुई वर्षको हुनेछ ।
नर्सिङ विधाबारे अध्ययन गरेर सुझाव दिन प्रा.डा. कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ ।
९ चैतमा बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार विद्यालय शिक्षा (९कक्षा १२) पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा। अञ्जनीकुमार झाले बताए । ‘आगामी शैक्षिक सत्रबाट कक्षा १२ पछि नर्सिङ कार्यक्रम सुरू गरिनेछ’ उनले भने, ‘यसका लागि पाठ्यक्रम तयार भइरहेको छ ।’
हाल माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरेपछि प्रविणता प्रमाणपत्र (पीसीएल) नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्र्षे हो । पीसीएल गरेपछि ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययन गर्न पाइन्छ, यो पनि ३ वर्षे शैक्षिक कार्यक्रम हो । विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका विद्यार्थीका लागि चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालन छ ।
संविधान २०७२ कार्यान्वयनको क्रममा २०७५ सालमा संसदले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनायो, जसले ९ देखि १२ कक्षालाई माध्यमिक शिक्षा तोक्यो । त्यसलाई आधार बनाएर नर्सिङ कार्यदलले नर्सिङ कार्यक्रम पनि माध्यमिक शिक्षा पुरा गरेपछि मात्र सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ । माध्यमिक शिक्षा पूरा गरेपछि नर्सिङ कार्यक्रम सुरू गर्दा तर्कसंगत चिन्तन र प्रमाणमा आधारित निर्णय लिने क्षमताको विकास हुने कार्यदलका सदस्य तथा नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष सरला केसी बताउँछिन् ।
कार्यदलले १२ पास गरेकाहरुले पढ्ने गरी नयाँ ‘जनरल नर्सिङ कार्यक्रम’ सुरु गर्न सिफारिस गरेको छ । आफ्नै स्वामित्वमा १०० शैयाको अस्पताल रहेको शिक्षण संस्थाले मात्र यो २ वर्षे शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउनेछन् ।
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयनमा आएको ५ वर्षभित्र पीसीएल नर्सिङ कार्यक्रम फेजआउट गर्दै लैजानुपर्ने समेत कार्यदलको सुझाव छ ।
कार्यदलको सिफारिस कार्यान्वयन गर्ने निर्णय गर्दै चिकित्सा शिक्षा आयोगले जनरल नर्सिङ कार्यक्रमको पाठ्यक्रम बनाउने जिम्मेवारी कार्यदललाई नै दिएको छ । त्यसअनुसार पाठ्यक्रमको ड्राफ गरिरहेको कार्यदल सदस्य केसीले जानकारी दिइन् ।
क्रमशः फेजआउट हुनेछ पीसीएल
हाल सीटीईभीटीबाट सम्बन्धन प्राप्त ५२ वटा शिक्षण संस्थाले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । हरेक वर्ष दुई हजार बढी (सिट संख्या २०८०) नर्सिङ पढ्ने गरेका छन् ।
चिकित्सा शिक्षा आयोगका अनुसार अब जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने र पीसीएल नर्सिङ कार्यक्रमलाई क्रमशः फेजआउट गर्दै लैजाने जिम्मेवारी सीटीईभीटीको हुनेछ । आयोगका उपाध्यक्ष डा। झाले भने, ‘अब आयोगले सीटीईभीटीलाई पत्र लेख्छ । त्यसपछि उसले कार्यान्वयनमा लैजानुपर्ने हुन्छ ।’
सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र भण्डारी भने पीसीएल कार्यक्रम तत्कालै विस्थापन गर्नसक्ने अवस्था नरहेको बताउँछन् । ‘भोलिका दिनमा जनरल नर्सिङ कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दै गयो, गुणस्तरीय शिक्षाको अभ्यास भयो भने विस्तारै पीसीएल तहको कार्यक्रम फेजआउट गर्ने तयारी हो,’ भण्डारीले भने ।
उनका अनुसार आगामी शैक्षिक सत्रमा तीन वर्षे पीसीएल नर्सिङले निरन्तरता पाउनेछ भने २ वर्षे जनरल नर्सिङ कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा सुरु हुनेछ ।
तर पीसीएल नर्सिङलाई कायम राखेर जनरल नर्सिङमा विद्यार्थी आकर्षित गर्न सहज छैन । सीटीईभीटीका उपाध्यक्ष भण्डारी पनि तीन कारणले जनरल नर्सिङमा आकर्षित हुन नसक्ने तर्क गर्छन् । एसईई पास गरेपछि थप दुई वर्ष (१२ कक्षासम्म) अध्ययन गर्नु पर्दा विद्यार्थी आकर्षित नहुने चुनौती थपिनसक्छ । एसईई पास गर्नेको तुलनामा माध्यमिक शिक्षा पास गर्ने विद्यार्थीको संख्या पनि निकै कम छ । पछिल्लो समय १२ कक्षा पास गरेपछि विदेश जाने लहर चलेकाले पनि दुई वर्षे नर्सिङमा विद्यार्थीलाई आकर्षित गर्न सहज छैन ।
साथै जनरल नर्सिङ कार्यक्रम सञ्चालन सुरु गरिहाल्ने केही कानुनी जटिलता पनि छ । सीटीईभीटीलाई विद्यालय तहको प्रमाणपत्र दिने अधिकार मात्र छ । कक्षा १२ पास गरेका विद्यार्थीहरु पढ्ने जनरल नर्सिङ कार्यक्रमलाई ब्याचलर तह मान्ने हो भने सीटीईभीटीले यो कार्यक्रम सञ्चालन गर्न सक्दैन । ‘सीटीईभीटीले सञ्चालन गर्ने कि विश्वविद्यालयबाट भन्ने विषय कानुनी जटिलता छ । छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिन्छ,’ भण्डारीले भने ।