सहकारी आन्दोलन कमजोर भयो भने निरपेक्ष गरिबीको संख्या बढ्छ : मन्त्री गिरी
बिर्तामोड । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी आन्दोलन कमजोर भयो भने, यसमाथिको हमलालाई रोक्न सकिएन भने निरपेक्ष गरिबीको संख्या बढ्ने बताएका छन् । उनले आज झापाको बिर्तामोडमा आयोजित ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
'यदि कुनै कारण सहकारी मोभमेन्ट धरासायी भयो भने, यस माथिको हमला रोक्न सकिएन भने, यो आन्दोलन कमजोर भयो भने निरपेक्ष गरिबीको रेखामुनि रहेको संख्या जो अहिले छ त्यसमा २० प्रतिशत बढेर जान्छ,' मन्त्री गिरीले भने । सानो पूंजी लगानी गरेर घर चलाउने, बालबच्चा पढाउने मानिसको हातमुख जोड्न बाटो बन्द गराउने खेल भइरहेको उनले बताए ।
मन्त्री गिरीले सहकारी आन्दोलनलाई सफल बनाएर राज्यले लिएको तीन खम्बे अर्थनीतिको अवधारणालाई सफल बनाउनु पर्ने बताए । तीन खम्बे अर्थनीतिको माध्यमबाट मुलुकलाई समाजवादसम्मको यात्रा तय गराउने राज्यको नीति रहेको भन्दै मन्त्री गिरीले उच्च मनोबलका साथ अगाडी बढ्न सहकारीकर्मीहरुलाई आग्रह गरे । 'अभियान सफल बनाउन तपाईहरु लाग्नुस् सरकार तपाईहरुको साथमा छ,' उनले भने, 'हामीले समृद्ध नेपाल सुखी नेपालीको जुन सपना देखेका छौं त्यो पूरा गर्ने महत्त्वपूर्ण आधार सहकारी हो। त्यही हिसाबले आत्मसम्मानका साथ, आत्मगौरवका साथ काममा जुट्नका लागि म तपाईँहरूलाई आग्रह गर्दछु।
बिर्तामोडको सिटी सेन्टरमा हजारौंको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव भानु दंगालले गरेका थिए।