२०८३ आश्विन १६ गते , शुक्रबार

६७औं राष्ट्रिय सहकारी दिवस झापामा भव्यताका साथ मनाईँदै

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १९ गते , सोमबार
६७औं राष्ट्रिय सहकारी दिवस झापामा भव्यताका साथ मनाईँदै

बिर्तामोड । झापामा ६७औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाईँदैछ । ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने मुल नाराका साथ आगामी २० गते सहकारी दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय सहकारी दिवसका सम्बन्धमा जिल्ला सहकारी संघ झापाले आइतबार संघको कार्यालयमा पत्रकार भेटघाट गरी जानकारी दिएको हो । कोरोना महामारी लगायतका कारण पाँच बर्षपछि खुल्ला रुपमा कार्यक्रम गर्न लागिएको जिल्ला सहकारी संघ झापाका अध्यक्ष तथा दिवस मूल आयोजक समितिका संयोजक गणेश ढकालले जानकारी दिए । बिर्तामोडको सिटी सेन्टरमा हुने कार्यक्रममा झापाका सम्पूर्ण सहकारी संस्थाका सञ्चालक, उपसमितिका सदस्यहरु, कर्मचारी तथा शेयर सदस्यहरुसमेत करिब १० हजारको संख्यामा सहभागी हुने उनले जानकारी दिए । दिवसको अवसरमा संघले झापाका सहकारीहरुमा विदा गर्ने निर्णय गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सहकारी संघका निवर्तमान केन्द्रिय अध्यक्ष मिनराज कडेललाई सम्मान गरिने संघका सचिव भवानीप्रसाद (भानु) दंगालले जानकारी दिए । कार्यक्रममा लागि गणेश ढकालको संयोजकत्वमा ५०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको उनले बताए । वित्तीय क्षेत्रमाथि बढ्दो आक्रमणलाई मध्यनजर गरी यस बर्षको कार्यक्रमको मुख्य थिम ‘संस्था, कार्यालय, कर्मचारी, सञ्चालक र सदस्य सुरक्षा’ रहेको सचिव दंगालले जानकारी दिए । सहकारी संस्थाविना समाजमा नागरिकको वित्तीय पहुँच, वित्तीय साक्षरता, एकता र नेतृत्व विकास सम्भव छैन भन्ने सन्देश दिनु सहकारी दिवसको मुल उद्देश्य रहेको उनले बताए ।

विहान साढे दश देखि पूर्वतर्फ सुगम पेट्रोल पम्प, पश्चिमतर्फ भगवानचोक उत्तरतर्फ महानन्दचोक, दक्षिणतर्फ विर्ताबजार हुँदै मुक्तिचोक परिक्रमा गरी झाँकीसहित साढे एघार बजे सिटी सेन्टरमा र्याली आइपुग्ने र सोको व्यवस्थापनका लागि दुई सय जना स्वयम्सेवक खटाइने संघका अध्यक्ष ढकालले बताए ।

२०१३ साल चैत्र २० गते नेपालको पहिलो बखानपुर ऋण सहकारी चितवनमा स्थापना भएको दिनलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइदै आएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक सदस्य कृष्ण पौडेल र केशव बस्नेत उपस्थित थिए ।  

सहकारी दिवसको यस बर्षका नाराहरु

१. हरेक क्षेत्रका नेपालीको आर्थिक पहुँचका निम्ति सहकारी ।

२. कर्जा सूचना केन्द्र लागु गर ।

३. सहकारीलाई पुर्नः कर्जाको सुविधा दे ।

४. सहकारी बचत तथा ऋण सुरक्षण कोष लागु गर ।

५. कर्जा अशुली न्यायधीकरण गठन गर ।

६. संस्थागत सुशासन कायम गर ।

७. सहकारी आर्थिक विपत्तिको साथी हो ।

८. मैले लिएको ऋण मेरो छिमेकीको बचत हो ।

९. सहकारीको साथमा, वित्तिय पहुँच हातमा ।

१०. बैंक, लघुवित्त र सहकारी राज्यको वित्तिय प्रणाली हो ।

११. सहकारीको स्वस्थ विकास, मिटर व्याजीको हुन्छ विनाश ।

१२. आर्थिक अराजकलाई कारबाही गर ।

१३. सहकारी विरुद्धको अराजक गतिविधि बन्द गर ।

१४. जन्म देखि मृत्यु सम्म सहकारीको साथ छ, उद्यमीलाई पूँजी दिने सहकारीको हात छ ।

१५. सदस्यको उत्पादन, सहकारीको बजारीकरण।

१६. गुणस्तरिय उत्पादन सहकारीको, सचेत रहाँ स्वास्थको ।

१७. दुःखमा पनि सहकारी, सुःखमा पनि सहकारी, सदस्यका हरेक कर्ममा सँगै जुट्छ सहकारी ।

१८. वित्तीय संस्था, सहकारी, उद्यमी बनाउने हितकारी ।

१९. सम्पूर्ण सहकारीकर्मी एक हौं ।

२०. सदस्य संस्था आफ्नै हो, मिटर व्याजी यसले मास्ने हो ।

२१. सहकारीको सुरक्षा गर ।

२२. हिजाको आपतमा पनि हामी, भोलिको राहतमा पनि हामी ।

२३. संयौलाई उद्यमी बनाएका छौं, गाँउ टोल महिला जगाएका छौं ।

२४. नलागौँ पछि जस्ता तस्ताको, मायामा जुटौं ड्ड संस्थाको

२५. सहकारी नेतृत्व विकासको आधारशिला हो ।

२६. कर्जा लिएर नतिर्नु वित्तिय अनुशासनहिनता हो ।

२७. राजनैतिक स्वार्थका लागि सहकारी प्रयोग नगरौं

२८. सहकारी सदस्यं ग्राहक होइनन्, मालिक हुन ।

२९. राजनैतिक विचलनले केही विग्रीदैन, सहकारी विचलनले देश विग्रन सक्छ ।

सम्बन्धित समाचार