सिरहामा एसईईको नेपालीको प्रश्नपत्र बाहिरियो
झापा । एसईई परीक्षाको आज दोस्रो दिन भइरहेको नेपाली बिषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो ।
सिरहाको गोलबजार आसपासको विद्यालयबाट प्रश्न पत्र बाहिरिएको प्रहरीले जनाएको छ । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ ।
परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।
घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार केहि मोबाइलहरु बरामद भएका छन् । घटनामा संलग्नको खोजी कार्य भइरहेको उनले बताए ।