श्रीमतीलाई रेटेको दाउले बमबहादुरले आफैलाई रेटे
झापा । मोरङको बेलबारीमा मंगलबार राति एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् ।
मंगलबार राति करिब १ बजे भएको घटनामा उनीहरुका छोरा भने भागेर ज्यान बचाएका छन् । प्रहरीका अनुसार ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरे लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । घटनाको जानकारी भए लगत्तै घटनास्थल पुगेको प्रहरीले गीतालाई मृत फेला पारेको थियो । प्रहरीले गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएका थिए । श्रीमान श्रीमतीबिच पहिलादेखि नै झगडा भइरहने गरेको बताइएको छ ।