सिरहाका विद्यालयमा सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी पढाइ हुने
बिर्तामोड । सिरहा जिल्लाको सिरहा नगरपालिकाका विद्यालयहरुमा सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विषयहरुमा पढाइ हुने भएको छ । पालिकाले उक्त बिषयहरुलाई विद्यालय तहका पाठ्यक्रममा समेट्ने भएको हो ।
मंगलबार पालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच ‘स्थानिय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम’को समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । विद्यार्थीहरुलाई सडक सुरक्षा, लागूऔषध, साइबर अपराध, लैंगिक हिंसा, यौन जन्य हिंसा जस्ता बिषयहरुमा ज्ञान दिने उद्धेश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
नगर प्रमुख डा. नविनकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी प्रमुख आचार्य, नगर उपप्रमुख बबिताकुमारी साह, प्रशासकीय अधिकृत बलिराम यादव, नगर शिक्षा प्रमुख काशिन्द्रप्रसाद यादव लगायतको उपस्थितीमा भएको उक्त बिषयहरु विद्यालयको पाठ्क्रममा समावेश गरेर अध्यापन गराइने सहमति भएको प्रहरी उपरीक्षक आचार्यले बताए ।